ताप्लेजुङमा संस्थागत निकायमा सुत्केरी भएकामध्ये एक चौथाई बढी २० बर्ष मुनि उमेर समूहका

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । ताप्लेजुङका स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने मध्ये एक चौथाई भन्दा बढी २० बर्षभन्दा कम उमेर समूहका रहेको पाइएको छ ।

नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । यद्यपि किशोरी अवस्थामै बिबाह गरेर बच्चा जन्माउनेहरूको संख्या भने घटेको छैन । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार आर्थिक बर्ष २०७९।८० मा ताप्लेजुङका स्वास्थ्य संस्थामा पुगेर १ हजार ३९ जनाले बच्चा जन्माएका छन् । ति मध्ये २ सय ६३ जना भने २० बर्ष भन्दा कम उमेर समूहका रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो । यो संस्थागत सुत्केरी भएका कूल संख्याको २५.३१ प्रतिशत हो । अस्पताल वा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने प्रकृयालाई संस्थागत सुत्केरीको रुपमा बुझ्ने गरिन्छ ।

सन् २०२२ मा गरिएको नेपाल जनसाङख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) ले कम उमेरमा सन्तान जन्माउने किशोरीको संख्या ३ प्रतिशतले घटेको देखाएको छ । उक्त सर्वेक्षणले नेपालमा १४ प्रतिशत किशोरी (१५ देखि १९ वर्ष) २० वर्ष नपुग्दै गर्भवती हुने देखाएपनि ताप्लेजुङमा भने संस्थागत रुपमा पुगी सुत्केरी भएकामध्ये २५ प्रतिशत बढी सुत्केरी २० बर्ष मुनि उमेर समूहका देखिएका छन् ।

आव २०७९।८० का लागि २ हजार २ सय ५ जना गर्भवती हुन्छन् भन्ने पूर्वानुमानका आधारमा स्वास्थ्य कार्यालयले लक्ष्य निर्धारण गरेको थियो । १ हजार ८ सय ५५ जना गर्भवति भएकामा १ हजार ३९ जनाले भने ताप्लेजुङका स्वास्थ्य संस्थामै गएर बच्चा जन्माएका थिए । गर्भवति भएका मध्ये केहि ताप्लेजुङ बाहिर गएरपनि सुत्केरी हुने गर्छन् । आव २०७९।८० मा १ सय १७ जना भने घरमै सुत्केरी भएको तथ्याङ्क रहेको छ । ताप्लेजुङमा एउटा जिल्ला अस्पताल,दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र,५० वटा स्वास्थ्य चौकी,३० वटा सामुदायिक स्वास्थ्य इकाई,दुईवटा शहरी स्वास्थ्य इकाई र छवटा आधारभूत स्वास्थ्य इकाई रहेका छन् ।

कलिलो उमेरमै गर्भवती हुँदा आमामा विभिन्न किसिमका जटिलता आउने गर्छन् । सुत्केरी भइसकेपछि पनि पाठेघर खस्ने, पिसाब चुहिरहने र बच्चा ख्याउटे हुनेजस्ता दर्जनौँ समस्या निम्तिने स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख घिमिरे बताउँनहुन्छ । यसैगरी पाठेघर वयस्क नभई जन्मिएका बच्चालाई श्वास फेर्न गाह्रो हुने, तापक्रम सन्तुलित बनाउन कठिन हुनेदेखि रगतमा सङ्क्रमण हुनेजस्ता समस्या देखिने उहाँले जानकारी दिनुभयो ।

सानो उमेरमा गर्भवती हुने समस्या कम गर्न विद्यालय तहबाट नै यौन शिक्षा सम्वन्धी जानकारी दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, किशोर–किशोरीमैत्री सूचना केन्द्रबाट जनचेतना फैलाउने काम भइरहे पनि त्यो अझै अपर्याप्त रहेको जानकारहरु बताउँछन् । यसैगरी बालबिबाह रोकथाम तथा न्यूनीकरणका उपायका बारेमा सर्वसाधरण समेतलाई ब्यापक जानकारी गराउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts