पछिल्लो ५ बर्षमा ताप्लेजुङमा घर निर्माण र मर्मतका लागि मात्रै करिव १० लाख घन फिट काठको माग हुने अनुमान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १५ । ताप्लेजुङमा पछिल्लो ५ बर्षमा घर निर्माण र मर्मतका लागि मात्रै करिव १० लाख घन फिट काठ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।

डिभिजन वन कार्यालयले आर्थिक बर्ष २०८३।८४ सम्मका लागि आवधिक सहितको रणनीतिक योजना तयार पार्दै वन पैदावार मागको अवस्था बिश्लेषण गरेको हो । निमित्त डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार काठ र दाउरा उपयोगको अवस्था प्रक्षेपण गरिएको छ । अघिल्लो आवबाट आव २०८३।८४ सम्ममा ९ लाख ९५ हजार ५ सय ५२ घन फिट काठ आवश्यक पर्ने वन कार्यालयको प्रक्षेपण रहेको छ । सो अवधि सम्ममा ११ हजार ६२ चट्टा दाउरा उपयोग हुने वन कार्यालयको अनुमान छ । घर निर्माणका लागि औसतमा ६० तथा मर्मतका लागि २५ क्युविक फिट काठ लाग्ने अनुमान वन कार्यालयले गरेको छ । यस्तै प्रत्येक घरधुरीले प्रत्येक दिन ०.१ चट्टा दाउरा उपयोग गर्ने अनुमान वन कार्यालयले गरेको छ ।

स्रोत सर्वेक्षण २०८० को तथ्याङ्कका आधारमा कूल घरधुरीको औसतमा १० प्रतिशतले नयाँ घर निर्माण गर्ने र २ प्रतिशतले घरगोठ मर्मत गर्ने अनुमानका आधारमा वन कार्यालयले काठ तथा दाउरा उपयोगको अनुमानित तथ्याङ्क निकालेको हो । जिल्लाभरमा २५ हजार ८ सय ७० घरधुरी नियमित रुपमा बसोबास गर्ने तथ्याङ्कलाई वन कार्यालयले काठ तथा दाउरा उपयोग गर्ने संख्यासंग तुलना गरेको जनाएको छ । डिभिजन वन कार्यालयका अनुसार चालू आव २०८०।८१ मा घर निर्माणका लागि १ लाख ३३ हजार ४ सय ८४ घन फिट र मर्मतका लागि ६६ हजार ७ सय ४२ घन फिट गरी कूल २ लाख २ सय २५ घन फिट काठ आवश्यक पर्ने अनुमान छ ।

यो आवमा २ हजार २ सय २५ चट्टा दाउरा आवश्यक पर्ने अनुमान गरिएको छ । यस्तै आव २०८१।८२ मा घर निर्माणका लागि १ लाख ३२ हजार ७ सय ३६ घन फिट तथा मर्मतका लागि ६६ हजार ३ सय ६८ घन फिट गरी कूल १ लाख ९९ हजार १ सय ४ घन फिट काठ तथा २ हजार २ सय १२ चट्टा दाउराको माग हुने वन कार्यालयको अनुमान छ । आव २०८२।८३ मा घर निर्माणका लागि १ लाख ३१ हजार ९ सय ९३ तथा मर्मतका लागि ६५ हजार ९ सय ९६ गरी कूल १ लाख ९७ हजार ९ सय ८९ घन फिट काठ र २ हजार २ सय चट्टा दाउरा आवश्यक पर्ने अनुमान गरिएको छ ।

आव २०८३।८४ मा घर निर्माणका लागि १ लाख ३१ हजार २ सय ५४ घन फिट तथा मर्मतका लागि ६५ हजार ६ सय २७ घन फिट गरी कूल १ लाख ९६ हजार ८ सय ८० घन फिट काठ तथा २ हजार १ सय ८८ चट्टा दाउराको माग हुने वन कार्यालयले अनुमान गरेको छ । अघिल्लो आव २०७९।८० मा घर निर्माणका लागि १ लाख ३४ हजार १ सय ३५ तथा मर्मतका लागि ६७ हजार १ सय १८ गरी कूल २ लाख १ हजार ३ सय ५३ घन फिट काठ र २ हजार २ सय ३७ चट्टा दाउराको माग थियो । ताप्लेजुङको जनसंख्या ऋणात्मक रहेको छ ।

२०६८ सालको जनगणनामा ताप्लेजुङको जनसंख्या १ लाख २७ हजार हारहारी रहेकोमा २०७८ को जनसंख्यामा १ लाख २० हजार(०.५३ प्रतिशत ऋणात्मक) हाराहारीमा झरेको छ । जनसंख्याको यहिँ ऋणात्मक अवस्थालाई आधार मानेर वन कार्यालयले वन पैदावार मागको अवस्थाको प्रक्षेपण गरेको जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts