आखेटोपहार राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज १५ । ताप्लेजुङबाट डिभिजन वन कार्यालयले बरामद गरेको विभिन्न वन्यजन्तुको छाला, हड्डीलगायतका आखोटोपहार चितवन पठाएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङले बिगत ११ वर्षयता विभिन्न समयमा बरामद गरेको करिव साढे २५ किलोग्राम आखेटोपहार चितवन पठाएको हो ।
डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार सालक, भालु, रतुवा मृग, घोरललगायत वन्यजन्तुको हाड/छाला (आखेटोपहार) चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको हो । डिभिजन वन कार्यालयले बरामद गरी भण्डारण गरेर राखेको कुल २५.५५१ किलोग्राम आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको शाहले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रमेश्वर पासवानले आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पु¥याएर हस्तान्तरण गरेको बताउनुभयो । सहायक वन अधिकृत पासवानका अनुसार निकुञ्ज कार्यालयलाई बुझाएको आखेटोपहारमा एकथान सालकको खपेटा ९८१ ग्राम, भालुको छाला एकथान २.३० किलोग्राम रहेको छ ।
यस्तै ४.४६ किलोग्राम तौल भएको चौंरीको छाला एकथान, रतुवा मृगको १७ वटा छाला १३.८८ किलोग्राम, घोरलको छाला तीन थान १.४४ किलोग्राम र रतुवा मृगको सिङ एकथान निकुञ्ज कार्यालयमा बुझाइएको छ । उक्त आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनसमक्ष बुझाएको पासवानले जानकारी दिनुभयो । आखेटोपहार २०७९ चैत पहिलो सम्मको अवधिमा बरामद भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बिना इजाजत वन्यजन्तुका आखेटोपहार घरमा राख्न, खरिद बिक्री र ओसारपसार गर्न तथा हस्तान्तरण गरी लिनदिन नपाइने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार विभिन्न समयमा डिभिजन वन कार्यालयले बरामद गरेको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको जनाएको छ ।