| |

घर-गाउँ बिर्सेका लिम्बूलाई आफन्तको जिम्मा

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज १४ । रोजगारीको सिलसिलामा भारतको सिक्किम गएर गाउँ नफर्किएका अर्थात घर बिर्सेका ताप्लेजुङका एक वृद्धलाई आफन्तको जिम्मा लगाइएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिबाङ घर भएका ७१ वर्षीय अमरबहादुर लिम्बूलाई आफन्तको जिम्मा लगाइएको हो ।
विगत २०४९ सालतिरै सिक्किम पलायन भएका लिम्बूलाई सिक्किमबासी युवाको एक टोलीले ताप्लेजुङ ल्याएर शनिबार आफन्तको जिम्मा लगाएका हुन् । पश्चिम सिक्किम रिन्छेनपुङका फुर्वा छिरिङ भुटिया नेतृत्वको टोलीले वृद्ध लिम्बूलाई उहाँका आफन्तको जिम्मा लगाएको हो ।
रिन्छेनपुङ गाउँ पञ्चायतका पूर्व सदस्यसमेत रहनुभएका भुटियाले रिन्छेनपुङकै एक लेप्चाका घरमा बस्दै आएका लिम्बूलाई बिरामी अवस्थामा भेटेपछि उपचारका लागि समन्वयसमेत गर्नुभएको थियो । लिम्बूलाई सोधखोज गर्दा आफ्नो घर नेपालको ताप्लेजुङ जिल्ला लिबाङ भएको र घर फर्कने मनशाय व्यक्त गरेपछि उहाँलाई उद्धार गरी नेपाल ल्याइएको भुटियाले बताउनुभयो ।
सामान्य उपचारमा भएको खर्च र यातायात खर्चसमेत आफैंले व्यहोर्नुभएका भुटियाले लिम्बूलाई नेपाल ल्याएर आफन्तको जिम्मा लगाउनु पाउँदा खुसी लागेको बताउनुभयो । हालसम्म अविवाहित रहनुभएका लिम्बू उमेरले जेष्ठ र अस्वस्थ्यसमेत रहेको भेटेपछि चाँडै आफन्तको जिम्मा लगाउनु पाए हुन्थ्यो भन्ने सोच अभिवृद्धि भएको र त्यसमा आफू सफल बनेको पनि उहाँको भनाइ छ ।
शारीरिक रुपमा अस्वस्थ्य रहेका लिम्बूलाई ताप्लेजुङ ल्याई पु¥याएर पनि उहाँहरुकै सक्रियतामा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारार्थ अस्पताल भर्नापछि फुङ्लिङस्थित होटल माउन्टेनका सञ्चालक विमल भण्डारीको समन्वयमा आफन्तलाई झिकाएर जिम्मा गरिएको हो ।
मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीसमेतको उपस्थितिमा लिम्बूलाई आफन्तको जिम्मा लगाइएको हो । आफन्तको जिम्मापछि अहिले वृद्ध लिम्बूका सहोदर भतिजाले उहाँको उपचारमा सहयोग तथा स्याहार–सुसारको कार्य गर्न थाल्नुभएको छ ।
यता करिव ३१ वर्षसम्म गाउँघर नफर्किएका लिम्बूलाई अस्वस्थ्य अवस्थामा उद्धार गरी यहाँ ल्याएर आफन्तलाई जिम्मा लगाउने लगायतको सह्रानीय कार्य गरेकोमा फुर्वा छिरिङ भुटियाको टोलीलाई गाउँपालिका अध्यक्ष कार्कीले धन्यवाद दिनुभएको छ । उहाँले अब वृद्धको उपचारमा लाग्ने खर्च सबै गाउँपालिकाले बेहोर्ने प्रतिवद्धतासमेत जनाउनुभएको छ ।
तत्काल लिम्बूको नागरिकता बनाउने प्रक्रियामा आफैँले सहजीकरण गर्ने र जेष्ठ नागरिकले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता दिलाउने पनि अध्यक्ष कार्कीले बताउनुभयो । सिक्किमको रिन्छेनपुङ गाउँ पञ्चायतमा राजनीतिक क्षेत्रमासमेत क्रियाशील तथा सामाजिक व्यक्तित्वका रुपमा स्थापित भुटियाको नेतृत्वमा १० जनाको टोलीले वृद्ध लिम्बूलाई ल्याएर आफन्तको जिल्ला लगाएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts