|

ताप्लेजुङ गोल्डकप ः गृह टिमलाई ट्राईबेक्ररमा स्तब्ध पार्दै सुनसरीको जुट विकास सेमीफाईनलमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । गृह टिम मानाभरा स्र्पोटिङ क्लव ताप्लेजुङलाई ट्राईबेक्ररमा हराउँदै ईटहरी सुनसरीको जुट विकास फुटबल एकेडेमी ताप्लेजुङमा सुरु ताप्लेजुङ गोल्डकपको सेमीफाईनल प्रवेश गरेको छ ।

जुट विकास फुटबल एकेडेमीले मानाभरा स्र्पोटिङ क्लवलाई ट्राईबेक्ररमा ५–४ ले पराजित ग¥यो । दुबै टिमले खेल अवधिमा १–१ को बराबरी खेलेपछि खेल ट्राईबेक्ररतर्फ धकेलिएको थियो । जुट विकासका रोहन कार्कीले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । बिपक्षी टिमका खेलाडीले गोलपोष्ट भन्दा करिव २५ यार्ड टाढा फाउल गरेपछि प्राप्त भएको फ्रि–किकलाई गोलमा परिणत गर्दै जुट विकासका रोहनले बनाएको अग्रता खेलको ७२ औं मिनेट सम्म टिक्यो ।

खेलको ७३ औं मिनेटमा जुट विकासको झैं मानाभरा स्र्पोटिङ क्लवले पनि सोहि प्रकृतिका आधारमा फ्रि–किकको मौका पायो । त्यो मौकालाई मानाभराका लखन लिम्बूले कुनै खेर फाल्नु भएन । फ्रि–किकलाई गोलमा परिणत गर्दै लखनले टिमलाई बराबरीमा ल्याउनुभयो । त्यसपछि दुबै टिमले रक्षात्मक खेल खेले । तर गोल थप्न सकेनन् । र, खेलको निर्णय ट्राईबेक्ररबाट गरियो । मध्यक्रमबाट बिपक्षी पोष्टतर्फ गोल अघि बढाएपनि ‘थर्ड लाइन’मा देखिएको कमजोरी सुधार गर्न नसक्दा गृह टिम यसबर्षको गोल्डकपबाट बाहिरिएको छ ।

अधिकाँस‘ए’डिभिजन लिग खेलेका खेलाडीको साथ पाएको जुट विकास फुटबल एकेडेमीको दरिलो रक्षापंक्ति गृह टिमका लागि गोल गर्न बाधक बन्यो । फलस्वरुप पहिलो खेलमै गृह टिमलाई स्तब्ध पार्दै जुट विकास सिधै सेमीफाईनलमा प्रवेश गरेको छ । ८ टिम सहभागी प्रतियोगिताको दोस्रो दिनको खेलमा रेडहर्ष स्पोर्टिङ क्लव इलाम र गोर्खा स्पोर्टिङ क्लव दमक आमनेसामने हुँदैछन् । पहिलो खेल जितेको जुट विकास फुटबल एकेडेमी भने अब फाईनल प्रवेशका लागि शनिवार हुने फिदिम स्र्पोटिङ क्लव पाँचथर र मोरङको पथरी–११ फुटबल क्लवको बिजेतासंग भदौ १८ गते भिड्ने छ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले ताप्लेजुङमा सार्वजनिक खुल्ला मञ्च र मैदानको आवश्यकता महशुष गरेर नगरपालिकाले सार्वजनिक खुल्ला मञ्च खरिदको प्रकृया अघि बढाएको बताउनुभयो । उहाँले यसअघिका जनप्रतिनिधिहरुको अगुवाईमा फुङलिङ नगरपालिका वडा नं २ मा निर्माण कार्य सुरु गरेको रंगशालाको संरक्षण र जर्गेनामा समेत ध्यान दिएर निर्माणका बाँकी काम अघि बढाउने बताउनुभयो । कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष,प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र(गणेश)मावो र फुङलिङ नगपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले लाखेजात्राको अवसरमा ताप्लेजुङमा हुने फुटबलको निरन्तरताका लागि छोटो समयका बीच आयोजक पक्षले गरेको मेहनेतले प्रतियोगिता सुरुआत हुन टेवा पुगेको बताउनुभयो ।

आयोजक लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले यो प्रतियोगिताको भव्य सुरुआतको मुख्य श्रेय सबै सहयोगी मन भएको बताउनुभयोे । ‘सहयोगी मनको मत मिल्नुनै आयोजक पक्षलाई काम गर्न उत्साहित र प्रोत्साहित गर्ने माध्यम हो’गुरुङले भन्नुभयो । उहाँले सहयोगी मनको उदारभाव,स्वयंसेवीहरुको सक्रिय र क्रियाशिल कार्य र दाताहरुबाट प्राप्त सहयोगको सहकार्य प्रतियोगिताको भव्य सुरुआतको आधार भएको बताउनुभयो । लाखेजात्रा खेल सञ्चालन समितिका बरिष्ठ उपाध्यक्ष प्रकाश मादेनले खेलको भव्य सुरुआतलाई निरन्तरता दिनका लागि सबैसंग आग्रह गर्नु भएको छ । प्रतियागिताको सबै प्राविधिक सहयोग जिल्ला फुटबल संघले गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । यो रकम यसअघिकै प्रतियोगितामा घोषित रकम हो । २०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७ र २०७८ सालमा कोरोना संक्रमणका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालनस्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts