| |

शेर्पा समुदायको भाषा तथा लिपि संरक्षण गर्न तालिम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २० । ताप्लेजुङमा शेर्पा समुदायले आफ्नो मातृभाषा र लिपिको संरक्षण गर्न तालिम सञ्चालन गरेको छ । नयाँ पुस्तासँगै हराउँदै गएको मातृभाषा र लिपिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो ।
शेर्पा समुदायको जातीय संस्था नेपाल शेर्पा संघ ताप्लेजुङले एक महिने तालिमको आयोजना गरी सहभागीलाई मातृभाषा र शेर्पा लिपिसम्बन्धी प्रशिक्षण (तालिम) प्रदान गरेको छ । शुक्रबारसम्म सञ्चालन गरिएको एक महिने मातृभाषा तथा लिपिसम्बन्धी तालिममा जिल्लाभरका ३२ जना सहभागी भएका थिए ।
सदरमुकाम फुङ्लिङमा सञ्चालित तालिमको सहजीकरण नेपाल शेर्पा संघका केन्द्रीय सदस्य दावा शेर्पा र ताप्लेजुङका संस्थापक अध्यक्ष मातृका शेर्पाले गर्नुभएको थियो । समयको विकास क्रमसँगै नयाँ पुस्ता आधुनिकतामै बढी भुल्न र रमाउन थालेपछि बिस्तारै मौलिक भाषा तथा लिपि लोप हुने स्थितिमा पुगेको अवस्थालाई दृष्टिगत गरी तालिम आयोजना गरिएको नेपाल शेर्पा संघका जिल्ला अध्यक्ष पासाङ्रिता शेर्पाले बताउनुभयो ।
यता तालिमका सहभागीले प्रशिक्षणबाट प्राप्त सीपलाई आफ्नो परिवार र समुदाय स्तरसम्म पुगेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । मौलिक मातृभाषा र लिपिको संरक्षण गर्दै आफ्नो संस्कार तथा संस्कृतिको जगेर्ना गर्नमा आफूहरु सधै क्रियाशील रहने पनि उनीहरुले प्रतिबद्धता जनाएका छन् । तालिम समापन कार्यक्रममा शेर्पाको मौलिक कला तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts