| | |

सिदिङ्वाका बाढीपहिरो प्रभावितलाई राहत वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १४ । ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकाका बाढीपहिरो पीडित तथा प्रभावित परिवारलाई करिव सोह्र लाख रुपियाँ राहत रकम वितरण गरिएको छ । सिदिङ्वा गाउँपालिका विपद् सहयोग अभियानमार्फत संकलन गरिएको राहत रकम बाढीपहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो ।
समृद्ध सिदिङ्वा नागरिक एकता समाज सँगको समन्वयमा विपद् सहयोग अभियानमार्फत संकलन भएको कुल १५ लाख ९० हजार ६५० रुपियाँ राहत रकम सिदिङ्वाका बाढीपहिरो पीडित परिवारलाई वितरण गरिएको हो । विपद् सहयोग अभियानका अभियान्ता राजकुमार बानियाका अनुसार सिदिङ्वा गाउँपालिकाका सात वटै वडामा पुगेर बाढीपहिरो प्रभावित परिवारलाई राहत रकम वितरण गरिएको छ ।
राहत रकम वितरण कार्य गएको बुधबारबाट वडा १ कालिखोलादेखि सुरु गरी शुक्रबार वडा ७ सुरुम्खिम पुगेर सम्पन्न गरिएको बानियाले जानकारी दिनुभयो । उहाँकाअनुसार सिदिङ्वा गाउँपालिकाले उपलब्ध गराएको बाढीपहिरो पीडित तथा प्रभावित परिवारको तथ्याङ्कका आधारमा गाउँपालिकाकै समन्वयमा राहत रकम वितरण गरिएको छ ।
गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कका आधारमा बाढीपहिरोमा परी मृतक तथा बेपत्ता भएका परिवार तीन जना, घाइते भएका दुई जना, विस्थापित भएका परिवार २७, उच्च जोखिममा परेका परिवार २० र जोखिममा परेका ७३ परिवारलाई राहत रकम वितरण गरिएको छ । मृतक तथा बेपत्ता भएका परिवारलाई प्रतिपरिवार ६१ हजार रुपियाँ र घाइतेका परिवारलाई प्रतिपरिवार २१ हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको अभियान्ता बानियाले बताउनुभयो ।
यस्तै विस्थापित भएका परिवारलाई प्रतिपरिवार २४ हजार रुपियाँ, उच्च जोखिममा परेका परिवार र जोखिममा परेका परिवारलाई क्रमशः प्रतिपरिवार आठ हजार र पाँचहजार रुपियाँका दरले राहत रकम वितरण गरिएको अभियानले जनाएको छ । त्यस्तै बिहीबार दिउँसो आगलागीबाट घर गुमाएका सिदिङ्वा गाउँपालिका–६ मेहेलेका रनबहादुर विकको परिवारलाई पनि राहतस्वरुप २४ हजार रुपियाँ रकम सहयोग गरिएको बानियाले जानकारी दिनुभयो ।
यसैगरी बाढीपहिरोमा परी अभिभावक गुमाएका पाँचजना बालबालिकाको पढाइमा सहयोग पु¥याउने उद्देश्यसहित उनीहरुको नाममा खाता खोली रकम जम्मा गरिने भएको छ । संकलित रकममध्ये सबै प्रकृतिका पीडित परिवारलाई वितरण गरेर बचेको रकम र राहत प्राप्त गरेका केही प्रभावित परिवारले फिर्ता गरेको रकमसमेत गरी पाँचजना बालबालिकाका नाममा करिव दुई लाख रुपियाँ जम्मा गरिने भएको अभियान्ता बानियाले बताउनुभयो ।
राहत रकम सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), वडाध्यक्षसहितका जनप्रतिनिधिहरु र सिदिङ्वा विपद् सहयोग अभियानमा संलग्न अभियान्ताहरुको उपस्थितिमा वितरण गरिएको हो । गत असार पहिलो साता गएको बाढीपहिरोका कारण सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा पाँच परिवार, वडा २ सादेवामा दुई र वडा ३ आँखोपमा छ परिवार प्रभावित भएका छन् ।
त्यस्तै वडा ४ साब्लाखु र ५ लिम्बुदिनमा तीन–तीन परिवार, वडा ६ मेहेलेमा ५६ तथा वडा ७ सुरुम्खिममा ४५ परिवार प्रभावित भएका गाउँपालिकाको तथ्याङ्क रहेको छ । गाउँपालिकाले संकलन गरेको बाढीपहिरोका प्रभावितहरुको विवरणमा केही छुट्न गएको भए सम्बन्धित वडाको सिफारिसका आधारमा राहतको व्यवस्थाका लागि विपद् सहयोग अभियानले पहल गर्ने जनाइएको छ ।
यता अभियान सञ्चालनको क्रममा भएको खर्च मुख्य अभियान्ता आर्फैँले बेहोर्नुभएको छ । विपद् सहयोग अभियानमा ३५ जना बढी अभियान्ता जुट्नुभएको थियो भने करिव पाँचसय जनाले विपद् सहयोग अभियानमार्फत सिदिङ्वा गाउँपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि सहयोग गर्नुभएको पनि अभियान्ता बानियाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts