पाँथथर जिप दुर्घटनाले ताप्लेजुङको ढुंगेसाँघु शोकमय
-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ९ । मेची राजमार्गको पाँचथर सडक खण्डमा मंगलबार भएको जिप दुर्घटनामा परी ताप्लेजुङ ढुंगेसाँघुका एक व्यक्तिको मृत्यु भएपछि गाउँ शोकमय बनेको छ । झापाको विर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुका ४२ वर्षीय जिनेत्द्रमणिविक्रम वनेमको मृत्यु भएको खबरले गाउँ शोकमय बनेको हो ।
विर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो फिदिम नगरपालिका–२ सामदिनमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी घाइते भएका एकजनाको पाँचथर अस्पतालमा उपचारको क्रममा निधन भएको खबर सञ्चारमाध्यमहरुमा आए पनि सुरुमा पहिचान खुल्न सकेको थिएन ।
पछाडि मृतकको पहिचान खुल्दा वनेमको निधन भएको थाहा हुन आएपछि ढुंगेसाँघु गाउँ शोकमय बनेको मैवाखोला गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । वडाध्यक्ष तामाङका अनुसार वनेम पछिल्लो समय काठमाडौंमा बस्दै आउनुभएको र जिल्लास्थित आफ्नो गाउँ ढुंगेसाँघु फर्कने क्रममा जिप दुर्घटनामा परी उहाँको मृत्यु भएको हो । वनेमको मृत्युको खबरले उहाँका आफन्त, दाजुभाइ (वंश), छरछिमेक, इष्टमित्र स्तब्ध हुनुका सार्थ गाउँ नै शोकमय बनेको वडाध्यक्ष तामाङको भनाइ छ ।
दुर्घटनामा परी निधन हुनुभएको वनेमको शव हाल पाँचथर जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन् । यता सो दुर्घटनामा परी ताप्लेजुङकै पाथभरा याङ्वरक गाउँपालिक–१ नाङ्खोल्याङका बुद्धहाङ लिम्बू, मिक्वाखोला गाउँपालिका–५ पापुङका इसेटिमा शेर्पा, सिरिजंघा गाउँपालिका–३ सिकैँचाका सरोज मादेन, फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमका अजय लिम्बू घाइते हुनुभएको छ ।
ताप्लेजुङबाहेक चालक इलामका अर्जुन विकसहित पाँचथर र काठमाडौंका समेत गरी १३ जना यात्रु घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । घाइतेमध्ये सविना विश्वकर्मासहित दुईजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालतर्फ रेफर गरिएको छ भने बाँकी घाइतेको पाँचथर अस्पतालमा उपचार हुँदै आएको बनाइएको छ ।