सडककिनारामा राखिएका गोलिया हटाउन ताप्लेजुङको सिरिजङ्गाले दियो दुई दिनको समयसीमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्रका सडकका दायाँबाँया राखिएका गोलिया(काठ)हटाई सडककिनारा खुल्ला गर्न वन पैदावार व्यवसायीलाई सोमवारसम्मको समयावधि दिएको छ ।

गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले आइतवार र सोमवार भित्रमा सडक किनारामा राखिएका गोलिया हटाईसक्न समयसीमा दिएको जानकारी दिनुभयो । समयावधि भित्र सडक किनारामा रहेका काठ नहटाए कानुन अनुसार गर्ने समेत अध्यक्ष चौहानले बताउनु भएको छ । सडकको दायाँबाँया अत्यधिक मात्रामा भएको गोलिया भण्डारणले आवतजावतमै कठिनाई भएकोले गोलिया हटाई सडककिनारा खुल्ला गर्न २ दिनको समय दिईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत असार २७ गते सूचना जारी गर्दै पालिका क्षेत्रका ८ वटै वडाहरुबाट भदौ मसान्त सम्म गोलिया काठको ढुवानी÷ओसारपसारमा प्रतिवन्ध गरेको थियो । बर्खाको समयमा गोलिया काठको ढुवानी गर्दा अत्यधिक मात्रामा सडक बिग्रने,भत्कने तथा आवत जावतमा समेत कठिनाई हुने भन्दै गाउँपालिकाले गोलिया ओसारपसार तथा ढुवानी प्रतिवन्ध गरेको थियो । पालिकाले सडक किरानामा रहेका गोलिया हटाउन भने २ दिनको समय दिएको छ ।

सार्वजनिक सडक ऐन २०३१(शंसोधन २०६६ समेत)को परिच्छेद ३ को नं १८ बमोजिम सार्वजनिक सडकको आवागमनमा अवरोध पु¥याउने मालबस्तु हटाउने अधिकार उल्लेख गरिएको छ । जस अनुसार कसैले सार्वजनिक सडकमा कुनै मालबस्तु छाडेको,राखेको वा फालेको कारणबाट सडकको आवागमनलाई कुनै किसिमले बाधा पु¥याएको भए त्यस्तो मालबस्तु हटाउन मुनासिव माफिकको अवधि तोकी सरोकारवाला व्यक्तिको नाममा आदेश गर्न सक्ने व्यवस्था रहेको छ । यहिँ व्यवस्था अनुसार गाउँपालिकाले सडक किनारामा राखिएका गोलिया काठ हटाउन वन पैदावार व्यवसायीलाई समय दिएको छ । तोकिएको समयावधि भित्र नहटाएको वा धनी पत्ता नलागेको मालबस्तुलाई लगाई राख्न वा आफ्नो कब्जामा राख्ने गरी अन्यत्र लैजान सक्ने छ । ऐनले सार्वजनिक सडकमा राखिएको,छाडिएको वा फालिएको मालबस्तुले सडकको आवागमनमा अवरोध पु¥याएमा त्यस्तो मालबस्तुलाई तुरुन्त हटाउन सक्ने अधिकार सडक विभागलाई दिईएको छ । स्थानीय तह र सडक विभागले समन्वयमा यो काम गर्न सक्नेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts