बिभिन्न अपराधिक घटनामा संलग्नहरुको पक्राउमा ताप्लेजुङ प्रहरीलाई उल्लेख्य सफलता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ४ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० मा बिभिन्न घटनामा संलग्न भई पक्राउ पर्नुपर्ने १ सय ३४ जना मध्ये १ सय १९ जनालाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार बिभिन्न घटनामा संलग्न १९ जना भने अझै फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ । घटनामा संलग्न फरार प्रतिवादीको खोजी कार्यलाई प्रहरीले‘बिशेष कार्ययोजना’बनाएर खोजी कार्य जारी राखेको समेत प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बिभिन्न घटनामा संलग्नहरुको पक्राउमा ८५ प्रतिशत भन्दा बढी सफलता पाएको देखिएको छ ।

प्रहरीले आव २०७८।७९ मा बिभिन्न घटनामा संलग्न रही पक्राउ पर्नुपर्ने १ सय ५६ जनामध्ये १ सय २८ जनालाई पक्राउ गरेको थियो भने २८ जना फरार रहेका थिए । आव २०७८।७९ मा ८२ प्रतिशत पक्राउ पर्दा १८ प्रतिशत फरार रहेका थिए । आव २०७७।७८ मा १ सय ५४ जना पक्राउ पर्नुपर्नेमा १ सय ४४ जना पक्राउ परेका थिए । सो बेला ९३.५ प्रतिशत पक्राउ पर्दा ६.५ प्रतिशत मात्र फरार रहेका थिए ।
मुद्दा फस्र्यौटमा भने औसत नतिजा
आरोपित पक्राउमा उल्लेख्य सफलता पाएको ताप्लेजुङ प्रहरीले मुद्दा फस्र्यौटमा भने औसत सफलता पाएको छ । आव २०७९।८० मा १ सय ६५ वटा मुद्दा दर्ता भएकोमा ६९ वटा मात्र फस्र्यौट गरी ९६ वटा काम बाँकीमा परेको छ । मुद्दा फस्र्यौटका हिसावले भने यो ४२ प्रतिशत मात्र सफलता हो ।

आव २०७८।७९ मा भने १ सय ६६ वटा मुद्दा दर्ता भएकोमा ८४ वटा फस्र्यौट गरी ८२ वटा काम बाँकीमा थिए । सो आवमा ५०.६ प्रतिशत मुद्दा फस्र्यौट भएको थियो । आव २०७७।७८ र २०७६।७७ भने मुद्दा फस्र्यौटका हिसावले उल्लेख्य बर्ष रहेको प्रहरीको अभिलेखबाट देखिएको छ ।

आव २०७७।७८ मा १ सय ७१ वटा मुद्दा दर्ता भएकोमा १ सय ६९ थान अर्थात् ९८.८३ प्रतिशत मुद्दा फस्र्यौट भएका थिए । सो आवमा २ वटा मुद्दामात्र अर्को आवका लागि जिम्मेवारी सरि आएको थियो ।

आव २०७६।७७ त झन् मुद्दा फस्र्यौटका हिसावले पछिल्ला ४ बर्षकै उत्कृष्ट थियो । १ सय ६३ थान मुद्दा दर्ता भएकोमा १ सय ६२ थान मुद्दा फस्र्यौट भई १ थान मुद्दाको फस्र्यौट मात्र अर्को आवका लागि जिम्मेवारी सरी आएको थियो ।

प्रहरी कार्यालयको मुद्दा फस्र्यौटका हिसावले सो आवमा ९९.३९ प्रतिशत मुद्दा फस्र्यौट भएको थियो । ताप्लेजुङ प्रहरीले बिभिन्न ४३ वटा शीर्षकमा मुद्दा दर्ता गरी अभिलेख राख्ने गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts