ताप्लेजुङमा सुरुभयो लाखे नाच
ताप्लेजुङ,असार ३० । ताप्लेजुङमा शनिवारबाट लाखे नाचको प्रारम्भ गरिएको छ । नेपाल भाषा तथा साँस्कृतिक समाजको भिन्तुना डाँडा जौवारी स्थल भवनबाट लाखेनाच प्रारम्भ भएको समाजका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
फुङलिङ नगरप्रमुख अमिर मादेनले कार्यक्रम शुभारम्भ गर्नु भएको छ । बिधिवत् रुपमा भीमसेन पुजा गरी लाखे नाच प्रारम्भ गरिएको समाजका पूर्व जिल्ला अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । फुङलिङ नगर उप्रमुख भीमादेवी ओझा,प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,ताप्लेजुङस्थित नेपाली सेनाको भीमकाली गुल्मका गुल्मपति पवन नगरकोटी,समाजका पूर्व अध्यक्षहरुको सहितको उपस्थितिमा लाखेनाच प्रारम्भ भएको छ । समाजका उपाध्यक्ष अम्बिका राजभण्डारीले संस्कृति र परम्पराको संरक्षणमा समाज र आवद्ध सदस्यहरुको क्रियाशिलता जारी रहने बताउनुभयो । लाखे नाचको शुभारम्भका बेला नेपाल भाषा तथा सांस्कृतिक समाजमा आवद्ध महिलाहरुले धिमे बाजा समेत बजाएका थिए ।
समाजले धिमे बाजाको संरक्षण र प्रवद्र्धनका लागि प्रशिक्षण नै चलाएको थियो । लाखे नाच प्रारम्भ भएको दिनलाई गथा मुंग,गठ्या मंगल वा घण्टा कर्ण जस्ता उपमा समेत दिने प्रचलन रहेको छ । लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य नै लाखे नाच हो । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नचाउने गरिएको किंवदन्ती रहेको छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने प्रचलन रहेको छ । लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ ।