ताप्लेजुङमा सम्पन्न खुला गजल प्रतियोगितामा होम दाहालको गजल पहिलो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३० । २ सय १० औं भानु जयन्तीको अवसरमा ताप्लेजुङमा शनिवार आयोजित खुल्ला गजल प्रतियोगितामा होमनाथ दाहाल प्रथम हुनु भएको छ ।
जीवन कालिकोटे दोस्रो हुँदा बिपना बियोगी तेस्रो हुनुभयो । नवराज आचार्य र प्रशान्त लेखक सान्त्वना हुनुभयो । नियाराफुङ मादेन र मिराक लिम्बूलाई बाल प्रोत्साहन पुरस्कृत गरिएको आयोजक कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । भरतकुमार गुरुङ र छुनु दाहाल निर्णायक मण्डलमा रहनु भएको थियो । प्रथम हुनेले नगद १० हजार,द्धितीय हुनेले ८ हजार र तृतीय हुनेले ६ हजार रुपैयाँका साथ प्रमाणपत्र पाएको आयोजक संस्थाले जनाएको छ । सान्त्वना हुनेलाई समेत पुरस्कृत गरिएको थियो ।
कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले प्रकाशित गरेको ‘खुल्ला आकास’समेत बिमोचन गरिएको थियो । फुङलिङ नगरप्रमुख अमिर मादेन,नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् गोरखापत्र संस्थानका पूर्व प्रधान सम्पादक श्रीओम‘रोदन’श्रेष्ठ तथा बरिष्ठ समालोचक एवम् प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतमले संयुक्त रुपमा ‘खुल्ला आकास’ बिमोचन गर्नु भएको थियो । ‘खुल्ला आकास’ माथि साहित्य स्रष्टा समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी टंककहादुर भट्टराईले समिक्षा गर्नु भएको थियो ।
कार्यक्रममा फुङलिङ नगरप्रमुख मादेन,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रेष्ठ, प्राध्यापक डाक्टर गौतम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ,नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुरोज मादेन सहितले मन्तव्य राख्नु भएको थियो । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा गायक तथा ईञ्जिनियर वीरेन्द्र श्रेष्ठले‘घर हाम्रो लेकैमा हो नेपाल देशैमा…… बोलको गीत प्रस्तुत गर्दा लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका बिद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा ‘द पोइट आईडल’मा उत्कृष्ट ९ भित्र पर्न सफल लेकाली कान्छा मुक्कुमले समेत आफ्नो साहित्य बाचन गर्नु भएको थियो ।