ताप्लेजुङको सिदिङ्वा र मैवाखोला गाउँपालिकाका जोखिम बस्ति स्थानान्तरणको अध्ययन गर्न विज्ञ टोली खटाइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २८ । जिल्ला बिपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी र पहिरोको उच्च जोखिममा रहेका सिदिङ्वा र मैवाखोला गाउँपालिकाका बस्ति स्थानान्तरणको अध्ययन गर्न विज्ञ टोली खटाउने निर्णय लिएको छ ।

बैठकले विज्ञ टोलीको अध्ययन प्रतिबेदनका आधारमा बस्ति तथा घरहरु स्थानान्तरण गर्न सम्वन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको जिल्ला बिपद् व्यवस्थापन समितिका सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिनुभयो । मनसुनजन्य बिपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापनाको क्रममा सिरिजङ्गा गाउँपालिकाका ४१ लाभग्राहीलाई जग्गा खरिदका लागि प्रति परिवार ३ लाख रुपैयाँका दरले कूल १ करोड २३ लाख रकम बितरण गरिएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । मनसुनजन्य बिपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यविधि २०७७ अनुसार छनौट भएका लाभग्राही परिवारलाई पुर्नस्थापना,पुर्ननिर्माण तथा प्रवलीकरणका लागि संघीय सरकारबाट ६० प्रतिशत,प्रदेश सरकारबाट ३० प्रतिशत र सम्वन्धित स्थानीय तहबाट १० प्रतिशत अनुदान दिन सकिने व्यवस्था छ ।

यस्तै सिरिजङगा गाउँपालिकाकै २१ लाभग्राहीलाई पुर्ननिर्माण र अस्थायी आवासका लागि सिरिजङगा गाउँपालिकाको सिफारिसका आधारमा सम्झौता रकमको ७० प्रतिशत प्रथम किस्ता रकम बापत भुक्तानी भएको ३२ लाख ५५ हजार रुपैयाँ समेत जिल्ला बिपद् व्यवस्थापन समितिले अनुमोदन गरेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले २०८० साल जेठ ९ गतेको बैठक पछि आगलागीजन्य घटनाबाट घर पूर्ण रुपमा क्षति भएका फुङलिङ नगरपालिका वडा नं ८ का पदमसुन्दर पालुङ्वाई नगद २० हजार तथा मेरिङदेन गाउँपालिका वडा नं ४ का दिलकुमार लिम्बू र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ४ डुम्रिसेका भीमप्रसाद लिम्बूलाई जनही नगद १५ हजार रुपैयाँका दरले राहत रकम बितरण गरिएको जनाएको छ । यस्तै सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा चट्याङका कारण मृत्यु भएका एक परिवारका आफन्तलाई नगद २ लाख रुपैयाँ राहत रकम दिएको समेत जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts