पाठेघर सम्वन्धी शिविरमा ताप्लेजुङका ५ जना महिलाको शल्यकृया

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २८ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा महिलाको पाठेघर रोग सम्वन्धी शल्यकृया सहितको शिविर सकिएको छ ।

धनकुटा जिल्ला अस्पतालका स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर अमिताव ठाकुर नेतृत्वमा आएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले पाठेघरमा गम्भिर समस्या देखिएका ५ जना बिरामीको शल्यकृया सम्पन्न गरेको फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिनुभयो । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाका अनुसार शल्यकृयाका लागि फक्ताङ्लुङ गाउँपालिकाका एकजनासहित ७ जना बिरामीलाई तयारी अवस्थामा राखिएको थियो । एकजनाको रक्तचापमा समस्या देखिएको र अर्को एकजनाको घाउ सहितको संक्रमण देखिपछि घाउ नसुकी शल्यकृया सम्भव नहुने भएकोले तत्कालै उहाँहरु दुईजनाको पाठेघरको शल्यकृया हुन नसकेको जानकारी स्वास्थ्यकर्मीले आफुलाई गराएको नगर उपप्रमुख ओझाले जानकारी दिनुभयो । शल्यकृया गरिएका बिरामी ताप्लेजुङ जिल्ला अस्पतालमै रहेको र चिकित्सकीय निगारानी पछि उहाँहरुलाई डिस्चार्ज गरिने समेत जनस्वास्थ्य निरीक्षक खवासले जानकारी दिनुभयो ।

फुङलिङ नगरपालिकाको चालू आर्थिक बर्षको बजेट र लामो समयको प्रयत्नमार्फत यो शिविर सम्भव भएको भन्दै उपप्रमुख ओझाले शिविरमा खटिएको चिकित्सकीय टीम,ताप्लेजुङ जिल्ला अस्पताल,यस कार्यमा सहयोग गर्ने जनप्रतिनिधि र स्वास्थ्य निर्देशनालय धनकुटा समेतप्रति आभार व्यक्त गर्नु भएको छ । चिकित्सकहरुका अनुसार महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुन्छन् ।

पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या देखिने गरेको चिकित्सकहरुको भनाई छ । उनीहरुले वर्षमा एक पटक पाठेघरको परीक्षण गराउन,महिनावारीको समयमा प्याड लामो समयसम्म प्रयोग नगर्न, अन्डरवेयर दिनहुँ परिवर्तन गर्न, यौनी बाहिरको भाग सफा र सुख्खा राख्न सल्लाह दिएका छन् । नियमित व्यायामले समेत पाठेघरलाई स्वस्थ बनाउन मद्दत गर्ने ताप्लेजुङ जिल्ला अस्पतालका एमडिजिपी डाक्टर महेश्वर गोसाँइले बताउनुभयो । खानपानमा पौष्टिक आहारयुक्त खानेकुरा समावेश गर्ने र घरको खानेकुरालाई प्राथमिकता दिदाँ समेत धेरै स्वास्थ्य समस्या हल हुने चिकित्सकहरुले बताएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts