सुरक्षित गर्भपतन सेवा बारे आ–आफ्नो क्षेत्रबाट जागरण अभियान चलाउने ताप्लेजुङका सरोकारवालाको प्रतिबद्धता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २६ । सुरक्षित गर्भपतन बारे समुदायस्तरमा चेतनाका कार्यक्रम अपुग भएको निश्कर्ष सहित ताप्लेजुङका सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट जागरण अभियान अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

सुरक्षित गर्भपतन सम्वन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरण सम्वन्धमा स्वास्थ्य कार्यालय ताप्लेजुङले आयोजना गरेको कार्यक्रममार्फत सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले सुरक्षित गर्भपतन अभियान सफल बनाउन समुदाय स्तरमा जागरणका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभभयो । उहाँले समाजमा रहेको परम्परागत मूल्य मान्यतालाई तोडेर व्यवहारमा परिवर्तन गर्न सकेको खण्डमा मान्यता र अवधारणा अनुसार सुरक्षित गर्भपतन सेवा प्रभावकारी हुने बताउनुभयो । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले चेतनाकै अभावमा कारण लुकिछिपी असुरक्षित तवरले गर्भपतन गराउने गरेको हुनसक्ने बताउनुभयो । सुरक्षित गर्भपतन सम्वन्धी कानुनी प्राबधान बारे समुदाय स्तरमा जानकारी गराउने र कसरी जोखिममा परेका गर्भवतीहरुको जीवन जोखिम हटाउन सकिन्छ भन्ने बारेमा जागरणका अभियान सञ्चालन गर्न आवश्यक उहाँले बताउनुभयो ।‘यो अभियानमा स्थानीय तहको पनि बलियो भूमिका र दायित्व रहन्छ’उहाँले भन्नुभयो ।

अधिकारकर्मी देवराज गुरुङले जोखिमपूर्ण घटना(बलत्कार,जबरजस्ति करणी) सहितका कारण अनिच्छित गर्भ रहेका महिलालाई सुरक्षित गर्भपतन सम्वन्धी मनोसामाजिक परामर्श सहितको सेवा आवश्यक रहेको बताउनुभयो ।‘मेरो अनिच्छित गर्भ रहेको अरुलाई पो थाह हुने होकी भन्ने भयका कारण पनि सुरक्षित गर्भपतन सम्वन्धी सेवा लिन समस्या भोगीरहेको अवस्था अहिले पनि समाजमा बिद्यमान छ’गुरुङले भन्नुभयो‘हामी सरोकारवालाले यस बारेमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्नु नै जोखिम कम गराउने हतियार हो’ । स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत पशुपति खनालले असुरक्षित गर्भपतनबाट हुने जोखिम र सुरक्षित गर्भपतनका फाइदा समुदायस्तरमा पु¥याउन सरोकारवाला सहितको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

जनप्रतिनिधि,सञ्चारकर्मी,स्वास्थ्यकर्मी,निजी क्षेत्र,रेडक्रस,नागरिक समाजका अगुवा,शिक्षक प्रतिनिधि र गैर सरकारी संस्थाका प्रतिनिधि समेतको सहभागितामा अभिमुखीकरण गराईएकोले आ–आफ्नो क्षेत्रबाट सुरक्षित गर्भपतनका फाइदा र असुरक्षित गर्भपतनबाट हुने जोखिम समुदायस्तरमा पुग्ने स्वास्थ्य कार्यालयले बिश्वास लिएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक गोपाल बरालका अनुसार हाल ताप्लेजुङ सहित नेपालका ६६ जिल्लामा सुरक्षित गर्भपतन सम्वन्धी सेवा प्रदान भइरहेको छ । मातृ मृत्युलाई न्यूनीकरण गर्ने एक माध्यम भनेकै सुरक्षित गर्भपतन सेवा रहेको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय ताप्लेजुङका सिनियर अनमी कमला तामाङले नेपालमा असुरक्षित गर्भपतनका कारण महिलाको अकालमा ज्यान जाने गरेको अवस्थामा सुधार ल्याउन सुरक्षित गर्भपतन सम्वन्धी सेवालाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपालको कानुन अनुसार गर्भवति महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ,जबरजस्ति करणी र हाडनाता करणीका कारण रहन गएको १८ हप्ता सम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवति महिलाको ज्यानमा खतरा हुने वा निजको शारिरिक र मानसिक स्वास्थ्यमा असर पर्ने वा बिकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिन्छ । एक अध्ययन अनुसार नेपालमा प्रत्येक बर्ष १० लाख ४८ हजार महिला गर्भवति हुन्छन् । यस्तो गर्भ मध्ये आधाजसो गर्भ भने अनिच्छित हुने गरेको पाईएको छ ।

नेपालमा कूल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको पाइएको छ । ४१ प्रतिशत प्रजनन् उमेरका महिलालाई मात्र सुरक्षित गर्भपतन सम्वन्धी जानकारी रहने गरेको भन्दै असुरक्षित गर्भपतनबाट हुने जोखिम र सुरक्षित गर्भपतनका फाइदा बारे जागरण अभियानमा सरोकारवालाले सामुहिक प्रतिबद्धता जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts