सेवाग्राही–जनप्रतिनिधि सम्बाद अभियान थाल्न पाथीभरा याङ्वरकलाई सेवाग्राहीको सुझाव,गुनासो सुन्न डेस्कको स्थापनामा जोड

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २६ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सेवाग्राहीले मासिक रुपमा क्षेत्रगत रुपमा सेवाग्राही–जनप्रतिनिधि सम्बाद अभियान सुरु गर्न गाउँपालिकालाई सुझाव दिएका छन् ।

सेवाग्राहीहरुले योजनाको प्रभावकारी अनुगमन गर्नुपर्ने,सेवाग्राहीका समस्या बुझ्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतले सातमा एक दिन सेवाग्राहीको गुनासो सुन्ने समय र डेस्क बनाउनुपर्ने माग पनि गरेका छन् । उनीहरुले कर्मचारी बिदामा बसेको अवस्थामा सम्वन्धित कर्मचारीबाट सेवा प्रवाह स्थगित भएको सूचना सेवाग्राहीले समयमै पाएमा कार्य सम्पादनको असजता अन्त्य हुने समेत सुझाएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाका अनुसार पालिकाले प्रवाह गर्ने सेवा सन्तुष्टीको अवस्था बारे वडागत रुपमै पुगेर जनमत सर्बेक्षण गरिएको थियो । पालिकाका ६ वटा वडाका टोलबस्तीमा पुगेर गरिएको जनमत संकलन र जनमत संकलन प्रतिबेदन प्रस्तुतिका क्रममा यस्तो सुझाव आएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो ।

पाथीभरा याङ्वरक गाउँपालिकाले सार्वजनिक सुनुवाईको क्रममा पालिकाका प्रत्येक वडाका ३० घरधुरी हुनेगरी १ सय ८० वटा जनमत संकलन गरेको थियो । जनमत संकलनको नतिजा सहित गरिएको सार्वजनिक सुनुवाईका क्रममा सेवाग्राहीले महिनामा एक दिन पालिकाका भित्रका प्रत्येक वडामा पुगेर सेवाग्राही–जनप्रतिनिधि सम्बाद कार्यक्रम सञ्चालन गर्न,पशु तथा कृषि क्षेत्रका आवश्यकताको पहिचान गरी योजना तथा कार्यक्रम छनौट गर्न,वडापालिकामा लक्षित समुदायका सदस्यको अनिवार्य उपस्थितिमा लक्षित कार्यक्रमको योजना बनाउन र सञ्चालन गर्न सुझाव दिएका छन् । सुझावका क्रममा अपाङ्ग र बालमैत्री संरचना निर्माणमा ध्यान दिन,प्रत्येक वडामा खुल्ला मञ्चको व्यवस्थापन गर्न,सुरु भएको काम पूरा नगरी अरु योजनामा हात नहाल्न र टुक्रे योजना सञ्चालन नगर्न समेत सेवाग्राहीको सुझाव रहेको पालिकाले जनाएको छ ।

सेवाग्राहीहरुले पालिकाका प्रत्येक वडाहरुमा इन्टरनेट सेवा बिस्तार गर्न माग गरेका छन् । उनीहरुले एकल पुरुष भत्ताको प्रवन्ध गर्न देखि दीर्घरोगीहरुलाई थप उपचार खर्चको व्यवस्थाका लागि समेत पालिकाले अग्रसरता लिनुपर्ने सुझाव दिएका छन् । वडापालिकाका योजनाको प्राविधिक अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि समेतको अनिवार्य उपस्थिति रहनुपर्ने सेवाग्राहीको सुझाव छ ।
केहि गुनासा,केहि राम्रा पक्ष देखाए सेवाग्राहीले
जनप्रतिनिधिहरु घरघरमै पुगेर सेवा दिईरहेको,कार्यालयमा पुग्ने बित्तिकै तपाँईको केहि काम थियो की भनेर कर्मचारीले सोध्ने गरेको,आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिएको,फुसको छानो हटाउने अभियान अघि बढाएको र बिपन्न परिवारलाई घर समेत बनाईदिएको जस्ता पालिकाका राम्रा पक्ष बताएका सेवाग्राहीले कार्य सम्पादन प्रकृयामा कतिपय गुनासा समेत गरेका छन् ।

योजना सञ्चालनका प्राविधिक झञ्झट व्यर्होनु परेको,टुक्रे योजनाका कारण पालिकाको बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको, पालिकाको शैक्षिक अवस्था खस्किदै गएको र खासगरी कक्षा ८ को नतिजा ज्यादै नराम्रो भएकोतर्फ सेवाग्राहीको गुनासो छ । अनावश्यक तवरले सडकको ट्रयाक खोल्ने कार्यले समग्र वातावरणीय प्रभाव नकारात्मक पर्ने गरेको भन्दै सेवाग्राहीले भइरहेका सडकलाई बाह्रैकाल सञ्चालन हुने गरी बनाउन समेत सुझाव दिएका छन् ।

पालिका अध्यक्ष केशरकुमार सुब्बाले सेवाग्राहीले उठाएका सवाल र व्यक्त भएका गुनासोको उचित सम्बोधन गरी पालिकाका सेवा प्रवाहका सवल पक्षको थप निरन्तरता र प्रभावकारितामा जोड दिने बताउनुभयो । पालिका उपाध्यक्ष रनमाया गुरुङले योजनाको प्रभावकारी अनुगमनका आफुले कुनै कसर बाँकी नराखेको बताउँदै सेवाग्राहीले उठाएका सुझाव समेतको मनन् गरी विधि र प्रकृया अनुसार अघि बढ्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत निरौलाले सेवा प्रवाह छिटो,छरितो,चुस्त र सेवाग्राहीमैत्री हुनुपर्ने कर्मचारी प्रशासनको बुझाईमा कमी हुन नदिने प्रयत्न जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts