पाथीभरा पदमार्गको मन्दिरक्षेत्रदेखि माथिल्लोफेदीतर्फको झण्डै एककिलोमिटरमा लाग्यो फाइवरको छाहारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २० । ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी(ट्रस )लगाउने कार्य मन्दिरबाट माथिल्लो फेदीतर्फ करिव एककिलोमिटर पूरा भएको छ ।

पदमार्गमा फाइवरको छाहारी लगाउने कार्य मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिले सम्म ९ सय २० मिटर क्षेत्रमा फाइवरको छाहारी लगाईसकिएको छ । माथिल्लो फेदीबाट मन्दिर सम्मको दुरी २ हजार ४ सय मिटर रहेको छ । कार्यकारी निर्देशक काफ्लेले मन्दिरबाट सुरु भएको फाइवरको छाहारी लगाउने कार्य माथिल्लो फेदी सम्म नै पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

चालू आर्थिक बर्षमा प्रदेश सरकार र पाथीभरा क्षेत्र विकास समितिको संयुक्त आयोजनाको रुपमा फाइवरको छाहारी लगाउने कार्यलाई निरन्तरता दिईएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार पदमार्गलाई तीन मिटर चौडाइमा विस्तार संगै फलामे ट्रस जडान गरी फाइवरको छाहारी लगाएको छ । यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दाँया–बायाँ रेलिङ लगाएको समितिले जनाएको छ ।

पदमार्ग नै ढाक्नेगरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छाहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । फाइवरको छाहारी लगाउने कार्य पूरा भएमा हिउँको र पानी परेको समयमा पनि तिर्थालुहरु हिउँको र पानीको प्रभाव बेगर मन्दिर दर्शन गरी फर्कन सक्ने समितिको बिश्वास रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts