७ बर्ष अघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषित ताप्लेजुङका करिव ५ सय परिवारमा अझै पनि छैन शौचालय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २० । ७ बर्ष अघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषित ताप्लेजुङका करिव ५ सय परिवारमा अझै पनि शौचालय नभएको प्रतिबेदन तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।

पाँचथर र ताप्लेजुङ दुबै जिल्लालाई हेर्ने तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय जनगणना २०७८ को जिल्लागत प्रतिबेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । सबै घरधुरीमा शौचालय बनिसकेको भन्दै ताप्लेजुङलाई २०७३ साल जेठ ३१ गते तामझामका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । त्यसको ७ बर्ष पछि तथ्याङ्क कार्यालयले यहाँका ४ सय ९२ परिवारमा शौचालय नभएको बताएको छ ।

प्रतिबेदन अनुसार ताप्लेजुङमा २७ हजार ७ सय ७६ परिवार रहेका छन् । तथ्याङ्क अधिकृत प्रेम नेपालका अनुसार सबैभन्दा बढी फक्ताङ्लुङ गाउँपालिकाका १ सय १४ परिवारमा शौचालय छैन । त्यसपछि फुङलिङ नगरपालिकाका ६४ परिवारमा शौचालय नभएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यसैगरी मिक्वाखोला गाउँपालिकाका ५५ परिवारमा,सिरिजङ्गा गाउँपालिकाका ५३ परिवारमा,मेरिङदेन गाउँपालिकाका ५२ परिवारमा,पाथीभरा याङ्वरक गाउँपालिकाका ५१ परिवारमा,आठराई त्रिबेणी गाउँपालिकाका ४३ परिवारमा,मैवाखोला गाउँपालिकाका ३९ परिवारमा र सिदिङ्वा गाउँपालिकाका २१ परिवारमा शौचालय नभएको तथ्याङ्क कार्यालयले जनगणनाको प्रतिबेदन भन्दै बिबरण सार्वजनिक गरेको छ ।

प्रतिबेदन अनुसार ताप्लेजुङ भरीमा ७२ वटा सार्वजनिक शौचालय रहेका छन् । सबैभन्दा बढी सिरिजङ्गा गाउँपालिकामा २० वटा,फुङलिङ नगरपालिकामा १७ वटा र मैवाखोला गाउँपालिकामा १० वटा सार्वजनिक शौचालय रहेका छन् । सबैभन्दा कम आठराई त्रिबेणी गाउँपालिकामा २ वटा सार्वजनिक शौचालय रहेको जनगणनाको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै पाथीभरा याङ्वरक,सिदिङ्वा र मेरिङदेन गाउँपालिकामा ५–५ वटा तथा फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिकामा ४–४ वटा सार्वजनिक शौचालय रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

जिल्लाभरीका २० हजार १ सय ६६ फ्लस भएको सेफ्टीयाङ्की सहितको र २ सय ६५ परिवारमा फ्लस भएको सार्वजनिक ढल सहितको शौचालय रहेको प्रतिबेदनमा भनिएको छ । ६ हजार ७ सय ८१ परिवारले भने साधारण शौचालय प्रयोग गर्ने गरेको समेत तथ्याङ्क कार्यालयले जनाएको छ ।
मूल धाराको पानी खाने परिवार साढे ५ सय नजिक
गाउँघरमा ‘उम्रिएको पानी’भनेर परिचित मूलधाराको पानी खाने परिवार संख्या ५ सय ३७ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । १४ हजार १ सय ३८ परिवारले घरपरिसर भित्रै धारा पाइपको सुबिधा पु¥याएर खानेपानी प्रयोग गर्ने गरेका र १२ हजार ६ सय ६३ परिवारले घर परिसर बाहिर धारा पु¥याएर पानीको प्रयोग गर्ने गरेको प्रतिबेदन समेत तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।

७५ परिवार नदी तथा खोलाको पानीमा आश्रित भएको पाइएको छ भने २ सय २० परिवारले कुवा समान अर्थात् नढाकिएका इनार सरहको पानी खाने गरेको पाइएको छ । २४ परिवार भने जार वा बोतलको पानीमा आश्रित रहेको र ८२ परिवारले भने उल्लेखित बाहेक अन्य स्रोत प्रयोग गरेर पानी उपयोग गर्दै आएको प्रतिबेदनमा भनिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts