सिदिङ्वाको बिपद् प्रभावित सहयोग कार्यविधि ः मानवीय देखि घर र पशु चौपाया सम्मको क्षति व्यहोरेकाहरुले राहत पाउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढी पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ ।

मानवीय क्षति व्यहोरेका देखि घर र पशु चौपाया गुमाएका परिवार समेतलाई कार्यविधि अनुसार राहत उपलब्ध गराउन थालिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो । गाउँपालिकाले पहिलो चरणमा बाढी पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई राहत उपलब्ध गराएको जनाएको छ । बेपत्ता परिवारका आफन्तले बेपत्ता सदस्य भेटिने आसामा काजक्रिया समेत गरेको अवस्थालाई मध्यनजर गर्दै बेपत्ता सदस्यलाई समेत मृतकले पाउने सरह राहत उपलब्ध गराइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिनुभयो ।

गाउँपालिकाले बाढी पहिरोमा परी मृत्यु भएका सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेका गणेश तामाङ,केशरबहादुर राई र सुरेश राईका आफन्तलाई जनही ६० हजार रुपैयाँका दरले राहत रकम दिएको छ । गणेशका बुवा हर्कबहादुरलाई पालिका अध्यक्ष राईले राहत रकम हस्तान्तरण गर्नु भएको छ भने केशरबहादुर र सुरेशका आफन्तले पाउने रकम मेहेलेका वडाध्यक्ष रन्तकुमार लिङ्देनमार्फत बुझाउने गरी पालिकाले जिम्मा लगाएको छ । यस्तै पहिरोले बेपत्ता बनाएका मेहेले भालुखोपका भगिमायाँ बुढाक्षेत्री,सन्ध्या बुढाक्षेत्री र प्रज्ववल बुढाक्षेत्रीका आफन्तले पाउने जनही ६० हजार रकम भगिमायाँका श्रीमान् यादवकुमार बुढाक्षेत्रीले बुझ्नु भएको छ ।

आठराई त्रिबेणी गाउँपालिकाले समेत मृतक ३ तथा बेपत्ता ३ गरी ६ जनाका आफन्तलाई जनही ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङ र गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ आफैं गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर राहत रकम हस्तान्तरण गर्नु भएको छ । आठराई त्रिबेणी गाउँपालिकाले गत असार १० गते सम्पन्न बजेट अधिबेशनमार्फत नै सिदिङ्वामा गएको पहिरोका कारण मृतक तथा बेपत्ता परिवारका सदस्यलाई जनही ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय लिएको थियो ।
घरवार देखि पशु चौपाया गुमाएका सम्मले राहत पाउने
सिदिङवा गाउँपालिकाले बिपद्ले कारण घर पूर्ण रुपमा क्षति गरेका परिवार देखि पशु चौपाया सम्म गुमाएका परिवारका लागि राहत रकम दिने भएको छ । पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)का अनुसार पालिकाले तयार गरेको कार्यविधि अनुसार यस्तो रकम उपलब्ध गराउन लागिएको हो । पालिकाका अनुसार घरबारबिहिन भएका परिवारलाई प्रतिरिवार ५ हजार देखि ४० हजार सम्म,अंगभंग भएका परिवारलाई प्रतिव्यक्ति २७ हजार र शारिरिक रुपमा घाइते भएकालाई उपचार खर्च बापत प्रतिव्यक्ति २० हजार रकम उपलब्ध गराउन लागिएको हो । यस्तै पशु गुमाएका हकमा भैंसी भए प्रतिगोटा १५ हजार,गाईगोरु भए १० हजार,भेडाबाख्रा भए ५ हजार र बंगुर–संगुर भए प्रतिगोटा ३ हजार रुपैयाँका दरले राहत रकम दिईने गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवाले राहत बितरणमा कठिनाई ः गाउँपालिका
सिदिङ्वा गाउँपालिका लामो समय देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ । पालिका अध्यक्ष राईका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत बेघालाई सो जिम्मेवारीबाट पालिकाको साविक पद(सव–ईञ्जिनियर)मा प्रतिस्थापन हुनेगरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गत फागुन २७ गते कोभिद ढकालको सरुवा भयो । ढकाल लामो समय सम्म कार्यालयमा हाजिर हुनु भएन । एकैपटक जेठको २७ गते पालिका आउनुभयो । हाजिर भएको दुईदिनमै ढकालले बेघालाई नै निमित्त दिदैं बिदा हुनुभयो । त्यसपछि उहाँ पालिका फर्किनु भएन । उतै सरुवा मिलाउनु भएका ढकालले रमाना पठाईदिन भन्नुभयो ।

‘ढकाल प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएपछि यसअघि आर्थिक कारोवार समेत पाउनु भएका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रोकियो,आर्थिक कारोवार समेतको जिम्मेवारी निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिन मन्त्रालयले नै फेरी सहमति दिनु पर्ने रहेछ’पालिका अध्यक्ष राईले भन्नुभयो‘त्यहिँ भएर बिपद् पीडितलाई राहत उपलब्ध गराउने प्रकृयामा समेत केहि बिलम्ब भयो’ । निमित्त प्रमुख प्रशासकीय अधिकृतका नामबाट खाता सञ्चालन हुने बित्तिकै नगद राहत बितरण सुरु भएको पालिका अध्यक्ष राईले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts