| |

ताप्लेजुङमा ३७ प्रतिशत खेतमा रोपियो धान,मकैबाली थन्क्याएसंगै रोपाँइले गति पाउने कृषि ज्ञान केन्द्रको बिश्वास

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १५ । यो बर्ष ताप्लेजुङमा ३७ प्रतिशत क्षेत्रमा मात्र धान रोपाँई भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यो गतबर्ष यहिँ अवधिको तुलनामा करिव ५ प्रतिशतले कम हो ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रचार अधिकृत बिनय महर्जनका अनुसार अघिल्लो बर्षको यहिँ अवधिमा कूलक्षेत्रफलको ४०–४२ प्रतिशत क्षेत्रफलमा रोपाँई भईसकेको थियो । उहाँका अनुसार ताप्लेजुङमा कूल ८ हजार ३ सय ३७ हेक्टर क्षेत्रफमा धान रोपाँई गरिन्छ । यो बर्ष बाढी र पहिरोका कारण पनि धान रोपाँईको गतिमा असर परेको उहाँले बताउनुभयो । यहाँ पछिल्ला वर्षहरुमा उन्नत जातका धानबालीहरुतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको देखिएको छ । खडेरी सहन सक्ने र उत्पादन तथा उत्पादकत्व बढि हुने धानमा कृषकको आकर्षण रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ बेलगुठी, भँगेरे, अट्टे, मसिनो र बासमति सहितका रैथाने जात रहेको समेत केन्द्रले जनाएको छ ।

मर्हजनका अनुसार सुख्खा १, खुमल ४ जस्ता धान कृषकले रोप्न थालेका छन् । कतिपयले आफैंलाई खान पुरानो रैथाने धान पनि रोप्ने गरेका छन् । ताप्लेजुङमा साउन अन्तिम सम्मनै धान रोपाँई गर्ने गरिएको छ । अधिकाँस क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने खेति अवस्थामा कारण औसतमा धेरै र थोरै बर्षाको दुबै परिणामका बेला यहाँ धान रोप्न कठिन हुन्छ । मकैवाली लगाएको क्षेत्रमा सो बाली थन्क्याएपछि मात्र रोपाँई गर्ने गरिएको छ । यहाँका ९ स्थानीय तहका ६१ व्टा वडामध्ये उच्च हिमाली क्षेत्रका केहि वडामा भने धान रोपाँई गरिदैन । मकै सहितका अन्य बाली नलगाईएको बाँझो र सिमखेतको अधिकाँस भू–भागमा भने रोपाँई लगभग अन्त्य हुन थालेको कृषि ज्ञान केन्द्रको बुझाई रहेको छ । अन्य क्षेत्रमा बाली थन्क्याउने कार्य पूरा गरेपछि पानीको उलब्धताका आधारमा धान रोपाँईले गति पाउने केन्द्रको बिश्वास रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts