पाथीभरा याङ्वरकको नीति ः पालिकाको आयव्यय हरेक महिना सार्वजनिक गरिने,सेवाग्राहीको गुनासो सम्वोधन गर्न डेस्क स्थापना,डाक्टर पढाउन छात्रबृत्ति
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ११ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले गाउँपालिकाले पालिकाको सेवाप्रवाह सम्बन्धि गुनासा सम्बोधन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने भएको छ ।
गाउँपालिकाको आयव्यय हरेक महिना सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने नीति समेत गाउँपालिकाले लिएको छ । पालिकाले पालिका भित्रबाट एमबिबिएस अध्यन गर्नेलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आगामी आर्थिक बर्ष २०८०।०८१ का लागि गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकाँश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ । गाउँपालिकाले शैक्षिक पाश्र्वचित्र तथा १० वर्षे शैक्षिक गुरु योजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको ५ वर्षे आवधिक योजना बनाएर चौतर्फी विकासमा फड्को मार्ने पालिकाको नीति छ ।
आर्थिक विकासअन्तर्गत कृषितर्फ किसानलाई निर्वाहमुखी खेतिबालीमामात्र बढि केन्द्रित हुने प्रवृत्तिलाई निरुत्साहित गरी व्यवसायिक खेतीमा प्रेरित गर्ने नीति गाउँपालिकाले लिएको छ । वडा नं. ५ र ६ मा कपासखेति,वडा नं ४ मा कफी तथा वडा नं २,५ र ६ मा तेलहनबाली प्रर्वद्धनमा गाउँपालिकाले जोड दिएको छ । । वडा नं. १,२,३,५ र ६ मा किसानसँग साझेदारीमा व्यवसायिक गाईपालन गर्ने नीति लिएको गाउँपालिकाले स्थानीय रुपमा दुध संकलन गरी दुग्धजन्य पदार्थमार्फत व्यवसायिक प्रकृया थाल्न डेरी उद्योग स्थापनामा जोड दिने भएको छ ।
गाउँपालिकाले खहरेदेखि गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने भएको छ । जग्गाको व्यवस्थापन भएकाले ५ शैयाको अस्पताल निर्माण सुरु गर्ने गाउँपालिकाको तयारी छ । वडा नं ३ तिरिङेमा वडा कार्यालय भवन बनाउन प्रदेश सरकारको समपूरक अनुदानमा साझेदारी गरी आगामी आवमा सम्पन्न गर्नेगरी प्रकृया अघि बढाउने गाउँपालिकाको योजना रहेको छ । पालिकाले आगामी आवभित्रै वडा नं १ नाङ्खोल्याङमा स्वास्थ्य चौकी भवनको निर्माण सम्पन्न गर्ने भएको छ ।
गाउँपालिकाले जथाभावी सडक ट्रयाक खोल्न अनुमति नदिने र भएका सडकको मर्मत तथा स्तरोन्नती गर्ने भएको छ । विद्युतीय प्रणाली ई–बिडमार्फत ठेक्का आव्हान गर्दा असोज मसान्तसम्मको समय निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । ‘हाम्रो गाउँपालिका,उज्यालो गाउँपालिका’ कार्यक्रमअन्तर्गत केन्द्रिय विद्युत प्रसारण लाइन जडानका क्रममा कालो तार र मिटर बक्समा अनुदान कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।
खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि वडास्तरीय वडाअध्यक्ष भलिबल र उपाध्यक्ष ब्याडमिन्टन प्रतियोगीता समावेश गरिएको छ । गाउँपालिकाको नीति अनुरुप अब सबै वडामा वर्थिङ सेन्टर स्थापना हुने छ । ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाले अनाथ तथा जोखिमयुक्त बालबालिकाहरुको व्यवस्थापनको लागि एक कोष स्थापना गरी कोषबाट उनीहरुलाई निर्वाह भत्ताको व्यवस्था गर्ने भनेको छ ।