मनसुन पूर्ण सक्रिय नहुँदै ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वामा बाढी र पहिरोको बितण्डा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १ । मनसुन पूर्णरुपमा सक्रिय नहुँदै ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा क्षेत्रमा बाढी र पहिरोको प्रभाव देखिन थालेको छ । सिरिजङ्गा गाउँपालिकाको याम्फुदिन र खेवाङ तथा सिदिङ्वा गाउँपालिकाको सुरुम्खिम क्षेत्रमा अबिरल बर्षाले घर सहित बिभिन्न पूर्वाधारमा क्षति गरेको छ ।

काबेली खोलामा आएको बाढीको कटान बढ्दा याम्फुदिनका जगतबहादुर राईको घर खोला बीचमा परेको छ भने तारामान गुरुङको घर समेत बस्न नहुने अवस्थामा पुगेको छ । सिरिजङ्गा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बद्रीप्रसाद सिटौलाका अनुसार याम्फुदिनस्थित कञ्चनजंघा माविको करिव १५ मिटर पर काबेली खोल कुद्न थालेपछि बिद्यालय प्रशासन र स्थानीयले बिद्यालयका महत्वपूर्ण सामाग्री सुरक्षित स्थानमा सार्न थालेका छन् । याम्फुदिनस्थित ८ किलोवाट क्षमताको लघु जलबिद्युत परियोजनाको बिद्युतगृह नै बाढीले बगाएको स्थानीय मनकुमार राईले जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकामा निर्माणाधिन जलबिद्युत परियोजनामध्ये स्नोरिभर्सर परियोजनाको एउटा क्रसर,टान्सफर्मर र मजदुर बस्ने आवास बाढीले बगाएको परियोजना संयोजक मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

यस्तै सोहि क्षेत्रको वल्लो भागमा हिलटन परियोजनाद्धारा निर्माणाधिन जलबिद्युत परियोजनाको पम्पप्रेशर मेसिन र एउटा मिक्सचर समेत बगाएको ढुङ्गानाले जानकारी दिनुभयो । गत जेठ १३ गते मात्र उद्घाटन भएको सिरिजङ्गा र सिदिङ्गा गाउँपालिकाको जोड्ने बाँकेटारस्थित तावाखोला पुल जोखिममा पारेको छ ।‘दुबैतर्फको आधार भाग बगाएर पुलमात्र ठिङग्रिङ्ग देखिन्छ भन्ने खबर आएको छ’सिरिजङ्गाको शाखा प्रमुख सिटौलाले जानकारी दिनुभयो । गाउँपालिकाको करिव ४ करोड १० लाख बढीको लागतमा बनेको यो पुल भर्खरै मात्र उद्घाटन गरी सञ्चालनमा आएको थियो । साना खोल्सा खोल्सी समेत खहरे खोला झैं बनेको र सडकमा समेत पानी कुद्न थालेपछि जोखिम देखेर सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका बिद्यालय भने जोखिम कम भएपछि सुचारु हुनेगरी बन्द गरिएका छन् । गत बर्ष असार पहिलो साता अबिरल बर्षा पछि गएको पहिरोमा परी खेवाङ्मा एकाघरका दुईजनाको मृत्यु भएको थियो । केहि घाईते समेत भएका थिए ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts