आठराई त्रिबेणीका निःशुल्क जग्गादाता सम्मानित,फुलवारी प्रहरी चौकीलाई पालिकाले दियो मोटरसाईकल
ताप्लेजुङ,जेठ २८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले स्थानीय तहलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई सम्मान गरेको छ । स्थानीय तह र अन्तरगतका संरचना बनाउन निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई उनीहरुको कार्यको प्रशंसा गर्दै सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो ।
गाउँपालिकाले प्रहरीको गस्ति अभियान र सुरक्षा सेवा छिटो छरितो बनाउने कार्यमा सहजीकरण गर्न वडा नं २ फुलवारीस्थित प्रहरी चौकीका लागि एकथान मोटरसाईकल समेत उपलब्ध गराएको छ । पालिका अध्यक्ष पोमूले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूलाई मोटरसाईकलको साँचो हस्तान्तरण गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी सेवालाई छिटो छरितो बनाउने कार्यमा सहयोग गरेको भन्दै गाउँपालिकालाई सम्मान समेत गरेको छ ।