|

मैवाखोलाको तेल्लाबुङमा दुध डेरी स्थापना,दुधले बजार पाउन थालेपछि पशुपालक खुसी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २० । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिलोपटक दुध डेरी उद्योग स्थापना भएको छ । गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको ८ लाख रुपैयाँ लगानीमा मैवाखोला गाउँपालिका वडा नं १ तेल्लाबुङमा दुध डेरी सञ्चालनमा आएको हो ।

स्थानीय जीवन खतिवडाले सञ्चालनमा ल्याएको डेरी उद्योगको पालिका अध्यक्ष विजयप्रकाश वनेमले उद्घाटन गर्दै डेरी सञ्चालनमा आएपछि पशुपालक कृषकलाई फाइदा पुग्ने बताउनुभयो । डेरी सञ्चालनले कृषकहरुलाई पशुपालनमा लाग्न प्रेरणामिल्ने र उत्पादित दुध बिक्रीका लागि सहजता हुने पालिका अध्यक्ष वनेमको भनाई छ । डेरी स्थापनाको प्रारम्भिक चरणमा दैनिक १ सयदेखि १ सय ५० लिटर दुध संकलन हुने अनुमान रहेको डेरी सञ्चालक खतिवडाले बताउनुभयो ।

मैवाखाला गाउँपालिका वडा नं १ ले चालु आर्थिक वर्षको बजेटमार्फत कृषकहरुलाई अनुदान दिएर जर्सी तथा होलिस्टेन गाई वितरण गरेको थियो । जर्सी गाई ५० प्रतिशत र होलिस्टेन ६० प्रतिशत साझेदारीमा १३ जना कृषकलाई वितरण गरिएको वडाध्यक्ष चन्द्रकुमार तामाङले बताउनुभयो । अहिले त्यहाँ प्रतिलिटर ६० रुपैयाँमा दुध बिक्री हुन थालेको छ । डेरीको अभावमा त्यहाँ उत्पादित दुधको बजारमा समस्या थियो । डेरीमा संकलित दुधबाट छुर्पी, मिठाइ, घिउ,ललिलप लगायत उत्पादन गरिने भएको छ ।

उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष कमलकुमारी लिम्बू,निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन,वडा नं १ का वडाध्यक्ष तथा पालिका प्रवक्ता तामाङ सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts