ताप्लेजुङका ९ मध्ये ५ स्थानीय तहको बजेट घट्दा ४ को बढ्यो,समग्रमा १ करोड ३६ लाख कम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १६ । अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्र्तगत संघीय सरकारमार्फत ताप्लेजुङका स्थानीय तहमा आउने बजेटमा ५ स्थानीय तहको बजेट साविकभन्दा घट्दा ४ स्थानीय तहको भने बढेर आएको छ ।

चालू आवको बजेटको तुलनामा फुङलिङ नगरपालिका सहित सिरिजङ्गा गाउँपालिका,सिदिङ्वा गाउँपालिका,फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको बजेट घटेर आएको छ । मेरिङदेन गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका,मैवाखोला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट भने बढेर आएको छ ।

अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्र्तगत आगामी आवका लागि सिरिजङ्गाले संघीय सरकारबाट ३७ करोड रुपैयाँ पाउने भएको छ । चालू आवका लागि सो रकम ३८ करोड ३५ लाख रुपैयाँ थियो । सिरिजङ्गाको बजेट १ करोड ३५ लाख रुपैयाँ घटेको छ । यस्तै फक्ताङलुङ गाउँपालिकाको बजेट १ करोड १९ लाख रुपैयाँ घटेको छ । आगामी आवका लागि फक्ताङ्लुङले संघीय सरकारबाट २८ करोड ७० लाख रुपैयाँ पाउने छ । चालू आवका लागि फक्ताङ्लुङले २९ करोड ८९ लाख रुपैयाँ बजेट पाएको थियो ।

यस्तै सिदिङ्वा गाउँपालिकाको बजेट ८० लाख रुपैयाँ घटेको छ । आगामी आवका लागि सिदिङ्वाले संघीय सरकारबाट २९ करोड २० रुपैयाँ पाउने छ । चालू आवका लागि सिदिङ्वाले ३० करोड रुपैयाँ बजेट पाएको थियो । मिक्वाखोला गाउँपालिकाको बजेट ३९ लाख रुपैयाँ घटेको छ । आव २०७९।८० मा मिक्वाखोलाले २४ करोड ५७ लाख रुपैयाँ बजेट पाएकोमा आगामी आव २०८०।८१ का लागि २४ करोड १८ लाख रुपैयाँ बजेट पाउने छ । यस्तै फुङलिङ नगरपालिकाकाको बजेट ३ लाख रुपैयाँ घटेको छ ।

आव २०८०।८१ मा फुङलिङ नगरपालिकाले ५० करोड ८५ लाख रुपैयाँ बजेट पाउने छ । आव २०७९।८० मा फुङलिङले ५० करोड ८८ लाख रुपैयाँ बजेट पाएको थियो । मेरिङदेन गाउँपालिकाको बजेट १ करोड २० लाख रुपैयाँ बढेको छ । आगाामी आव २०८०।८१ मा मेरिङदेनले ३२ करोड २६ लाख रुपैयाँ बजेट पाउने छ । आव २०७९।८० मा मेरिङदेनको बजेट ३१ करोड ६ लाख रुपैयाँ थियो । यस्तै आठराई त्रिबेणी गाउँपालिकाको बजेट ८० लाख रुपैयाँ बढेको छ । आव २०७९।८० मा आठराई त्रिबेणी गाउँपालिकाको बजेट ३२ करोड ६१ लाख रुपैयाँ रहेकोमा आव २०८०।८१ मा उसको बजेट बढेर ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट ३६ लाख रुपैयाँ बढेको छ । आव २०७९।८० मा ३२ करोड ७१ लाख रुपैयाँ रहेको उसको बजेट आव २०८०।८१ मा ३३ करोड ७ लाख रुपैयाँ पुगेको छ । मैवाखोला गाउँपालिकाको बजेट ४ लाख रुपैयाँले बढेको छ । मैवाखोलाले अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्र्तगत चालू आवका लागि २८ करोड २ लाख रुपैयाँ बजेट पाएको थियो । आव २०८०।८१ का लागि भने उसले २८ करोड ६ लाख रुपैयाँ बजेट पाउने छ । अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्र्तगत समग्रमा ताप्लेजुङका स्थानीय तहको बजेट १ करोड ३६ लाख रुपैयाँ घटेको छ । ५ स्थानीय तहको ३ करोड ७६ लाख रुपैयाँ बजेट घट्दा ४ स्थानीय तहलाई २ करोड ४० लाख बढेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts