नेपालका ६० जिल्लाका सयबढी पर्यटकिय स्थलको भ्रमणमा निस्किएको टोली ताप्लेजुङमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १४ । नेपालका प्रमुख पर्यटकिय स्थलको प्रवद्र्धनात्मक उद्देश्य लिएर १० जना युवाहरुको एक टोली भ्रमणमा निस्किएको छ । चीन र भारतलाई छुने नेपालका दुई जिल्ला ताप्लेजुङ र दार्चुलालाई केन्द्रबिन्दु बनाएर सुरु भएको यो अभियानमा देशका ६० जिल्लाको भ्रमण गर्ने लक्ष्य राखिएको छ ।

आइतवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा पर्यटन क्षेत्रसंग सम्वन्धित सरोकारवालहरुसंग छलफल गर्दै टोलीले ताप्लेजुङको पर्यटकिय क्षेत्र,सम्भावना र चुनौति बिषय केन्द्रित अन्तरकृया गरेको छ । भ्रमणटोलीका संयोजक बिष्णु बिबेकका अनुसार जलवायु परिवर्तन र यो क्षेत्रका प्रमुख पर्यटकिय क्षेत्रका सम्भावना,समस्या,चुनौति र समाधानका बिकल्प बारे स्थानीय सरोकारवालासंग सुक्ष्म छलफल समेत हुने छ ।‘जलवायु परिवर्तनबाट परेको असर र प्रभाव सहित प्रमुख पर्यटकिय क्षेत्र,ति क्षेत्रका सम्भावना,समस्या र चुनौति केन्द्रित बिषयमा अध्ययन समेत गर्ने छौं’टोली संयोजक बिबेकले भन्नुभयो । उहाँका अनुसार टोलीमा पर्यटन क्षेत्रसंग सरोकार राख्ने सञ्चारकर्मी,रंगकर्मी र शोध अध्ययनकर्ता सहभागी छन् । जेठ १० गतेबाट सुरु भएको अभियान जेठ २५ गते दार्चुला पुगेर सकिने छ ।

७ प्रदेशका ६० जिल्लाका एकसय बढी पर्यटकिय गन्तव्यको अवलोकन भ्रमण गर्ने ति क्षेत्रका एक हजार बढी पर्यटकिय क्षेत्रका सरोकारवालासंग पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनका मुद्दा केन्द्रित बहस चलाउने यो टोलीको योजना रहेको टोल सदस्य चन्द्रकला कार्कीले बताउनुभयो । नेपाल पर्यटन बोर्ड यो अभियानको मुख्य प्रवद्र्धक रहेको छ । नेपाल उद्योग बाणिज्य महासंघ,होटल एशोसिएसन नेपाल र ट्रेकिङ एजेन्सी एसोशिएसन नेपाल लगायतका निकायले अभियानका लागि सघाएका छन् ।

आइतवार निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरे,ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पा सहित यहाँका पर्यटन क्षेत्रसंग सरोकार राख्ने निकाय तथा व्यक्ति र सञ्चारकर्मीसंग अभियान टोलीले छलफल गरेको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts