| |

मञ्च छोड्नेलाई निष्कासन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २५ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पार्टी छोडेका आफ्ना नेता कार्यकर्ताहरुलाई निष्कासन गरेको छ । मञ्च छोडेर अर्को पार्टीमा प्रवेश गरेका करिव दर्जन नेता कार्यकर्तालाई मञ्चको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको छ ।
मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) द्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा मञ्च छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकाहरुलाई निष्कासन गरिएको जनाइएको छ । मञ्चबाट निष्कासित हुनेमा ज्ञानबहादुर गुरुङ, अशोक चेम्जोङ, दिलकुमार लावती, इन्द्रकुमारी लिम्बू, धनबहादुर सुब्बा पन्धाक, बिष्णुकुमार चोङ्बाङ, निमारिन्जी शेर्पा, विजय निङ्लेखु, इन्द्रजित राई र अमर इजम रहनुभएको छ ।
निष्कासित हुने सबैजना मञ्चका केन्द्रस्तरीय विभिन्न पदाधिकारीको जिम्मेवारी रहनुभएको थियो । उहाँहरुको निष्कासनपछि रिक्त भएका पदहरुमा १५ दिनभित्र पदपूर्ति गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको सम्बन्धित समितिहरुलाई विज्ञप्तिमार्फत निर्देशन पनि दिइएको छ । पहिचान तथा कोशी प्रदेश खारेजीको आन्दोलन उत्कर्षमा पुगेका बेला एकताको नाममा पहिचानवादी आन्दोलनको खम्बाको रुपमा रहेको मञ्चलाई अर्को पार्टीमा बिलय गर्ने दुस्साहस गर्न खोज्नु अक्षम्म गल्ती भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत बैशाख १८ गते नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् संघीय सरकारका भूमि सुधार सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा गुरुङको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गर्नुभएको थियो । तत्कालीन मञ्चका नेता गुरुङको समूहले अध्यक्ष लिङ्देन निरंकुस तथा भ्रष्ट भएको र पार्टी (मञ्च) लाई नै तहसनहस बनाएको आरोप लगाउँदै लिङ्देनलाई निष्कासन गर्दै नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको जनाएका थिए ।
यता लिङ्देनद्वारा जारी विज्ञप्तिमा ९८ प्रतिशत केन्द्रीय सदस्यहरु मञ्चमै रहेको र मञ्चलाई थप मजबुद बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ । त्यस्तै हाल जारी प्रदेश १ को पुनः नामाकरण संघर्ष समितिमा अझ सक्रिय भएर लाग्नेसमेत मञ्चले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts