साँबाका एक परिवारको जीर्ण घरमा जोखिमपूर्ण बास
-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्ण रुपमा बस्दै आएका छन् । मिक्वाखोला गाउँपालिका–४ साँबाका स्थानीय सुरेश लिम्बूको परिवार फुस (खर) ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका हुन् ।
निक्कै जीर्ण बनेको घर पुनःनिर्माण गर्ने आर्थिक नहुँदा लिम्बूको परिवार जोखिमयुक्त घरमा बस्न बाध्य भएका बुझिएको छ । फुसले छाएको छानो धेरै नै पूरानो भएकाले घामपानी र हावाहुरी छेक्न नसक्ने अवस्थाको जीर्ण घरमा लिम्बूको परिवारको बसोबास रहेको छ ।
झट्ट हेर्दा हालको उक्त संरचनामा मानिसको बसोबास नरहेको अर्थात पहिले नै छोडिसकेको जस्तो देखिने जीर्ण घरमा लिम्बूको परिवारको बास रहेको छ । लिम्बूको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमती रहेका छन् । परिवारमा छ जनाको सङ्ख्या रहे पनि अधिकांस समय लिम्बूकी श्रीमती रीता र कान्छी छोरी माया लिम्बू बस्दै आएको बताइएको छ ।
दुई दाजुहरु काम वा अन्य शिलशिलामा बाहिर बाहिरै बस्ने गरेको, दिदी फुपूको घरमा र आफू चाहीँ आमासँगै रहेको १४ वर्षीया माया लिम्बूले बताउनुभयो । बाबु (सुरेश लिम्बू) गाउँघरतिरै डुलघुम गर्दै घर आउने टुंगो रहने मायाले सुनाउनुभयो । उहाँले यो वर्ष बर्खा नलाग्दै हावाहुरी र पानी पर्न थालेकाले घर चुहिएर बसिनसक्नु रहेको बताउनुभयो ।
केही ठूलो पानी पर्दा घरभित्र आहाल (पानी जम्ने) हुने र चुल्होमा आगो बाल्नै नमिल्ने अवस्था रहेको छोरी मायाले सुनाउनुभयो । “कुनै समय ठूलो पानी परेका बेला रातभर नसुती (जाग्राम) बस्ने गरेका छौं” उहाँले भन्नुभयो । गाउँपालिका र वडाका जनप्रतिनिधिले सहयोग गर्ने कुरा के छ ? भन्ने प्रसंगमा आफूलाई केही थाहा नभएको उहाँले बताउनुभयो । उहाँले घरको एकछेउमा थोरै जस्तापाताले छाएको छाल्की रहेकाले टाउको ओताउने ठाउँ भएको बताउनुभयो ।
यसरी पानी चुहिएर घर जीर्ण भई दयनीय अवस्थासँगै लिम्बूको परिवारमा दैनिकी चलाउनलाई पनि मुस्किल रहेको स्थानीयले बताएका छन् । घरमुली लिम्बूले आफ्नो घरको व्यवस्थापन गर्नेतर्फ खासै चासो नदिएकाले पनि थप संरचना जीर्ण बन्दै गएको छरछिमेक बताउँछन् । स्थानीय छिमेकीले परिवारमा अभिभावकीय भूमिका निभाउने कार्यमा पनि लिम्बूको कमजोरी औंल्याएका छन् ।
यता लिम्बूको यस्तो घरको दयनीय अवस्थाबारे आफूलाई हालसम्म कुनै जानकारी नै नगराइएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीले लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।
साँबाका वडाध्यक्ष सदनकुमार साँबा लिम्बूले फुसको छाना विस्थापन कार्यक्रमअन्तर्गत लिम्बूको नाम पनि सूचिकृत भएको जानकारी दिनुभयो । वडाका १८ परिवारको सूचीकृत भएका नाममा लिम्बूको नाम रहेको वडाध्यक्ष साँबाले बताउनुभयो । सरकारी अनुदान लिने उद्देश्य राखेर कतिपय परिवारले आफ्नो घरको बेवास्ता गर्ने गरेको पाइएको पनि वडाध्यक्ष साँबाको भनाइ छ ।
उहाँका अनुसार समयमा आफ्नो घर वा संरचनाको सुरक्षाप्रति घरधनीले बेवास्ता गर्दा छाना चुहिएर घर थप जीर्ण बन्ने गरेको पाइएको छ । ढुङ्गा र माटोले बनेको घरको वाल (गारो) धराप हुने गरेको छ भने छानाका डाँडाभाटा, दलिन, सेप्रीमा प्रयोग गरिएका काठहरु मक्काउने गरेका छन् ।