सिरिजङ्गा गाउँपालिका र जिल्ला प्रशासनको एक्सन ः करिव ५ लाख रुपैयाँ राजश्व बुझाएपछि छोडियो नियन्त्रणमा लिईएका गोलिया बोकेका ट्रक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको नम्बरी आवादीको रुख कटान वापत गाउँपालिकालाई भुक्तान हुनुपर्ने सिफारिस दस्तुर नतिरेपछि नियन्त्रणमा लिईएका गोलिया बोकेको ट्रक राजश्व भुक्तान पछि छाडिएको छ ।

सिनाम पञ्चमी आसपासमा गोलिया बोकेका शंकास्पद ८ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सिरिजङ्गा गाउँपालिकाको वडा नं ७ खेवाङको नम्बरी आवादी जग्गाको रुख कटान बापत गाउँपालिकालाई तिनुपर्ने करिव ५ लाख रुपैयाँ राजश्व भुक्तान भएपछि गोलिया बोकेको ट्रक गन्तव्यतर्फ लागेका छन् ।

सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले दुईजना व्यवसायीले ४ लाख ९७ हजार रुपैयाँ राजश्व रकम जम्मा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नम्बरी आवादीको रुख कटान वापत गाउँपालिकाले प्रति रुख तीनसय रुपैयाँका दरले सिफारिस दस्तुर वापत राजश्व रकम लिने गरेको छ ।

कतिपय व्यवसायीले वडा कार्यालयमै यस्तो सिफारिस दस्तुर तिरेको पाइएकोले त्यो रकम समेतलाई आधार मानेर सो भन्दा उताको राजश्व रकम लिएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो । तर वडा कार्यालयमा यस्तो सिफारिस दस्तुर लिदा कति रुख कटान गरेको सहितका सबै बिबरण उल्लेख नहुने गरेको र एकमुष्ट बिबरणले रुख कटानको वास्तविक लगत देखाउन समस्या सृजना हुने भएकोले अब उप्राप्त यस्तो सिफारिस दस्तुर सोझै गाउँपालिकाका भुक्तान हुँदा राम्रो हुने उहाँको भनाई रहेको छ ।

गाउँपालिकाका सबै वडाहरुमा वडा सचिव समेत नभएको अवस्थामा वडा पालिकाबाट नियमित रुपमा यस्ता सिफारिस अद्यावधिक हुन नसक्ने गाउँपालिकाको बुझाई रहेको छ ।‘वडामा राजश्व रकम बुझाएपनि आउने गाउँपालिकामै हो,तर यस्ता सिफारिसको प्रकृया सोझै गाउँपालिकाबाट गर्दा राम्रो हुन्छ’प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो ।

डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख बद्रीप्रसाद शाहले सिरिजङ्गा गाउँपालिकाले नम्बरी आवादीको रुख कटानको सिफारिस सहितको प्रकृयाका बारेमा आफ्नो क्षेत्रको रुख कटान अनुमति बारेको के कस्तो अवस्था छ भनेर बिबरण मागेको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले गाउँपालिकाको समन्वय र प्रशासनको अगुवाईमा गोलिया बोकेका शंकास्पद गाडी नियन्त्रणमा लिएको पुष्टी गर्नुभयो । उहाँले राजश्व रकम दाखिला भएपछि गोलिया बोकेको ट्रकलाई छाडिएको जानकारी दिनुभयो ।

‘यो अवस्था किन आयो भनेर काठ कटान तथा निकासी सम्वद्ध सबै निकायसंग सोधपुछ र जानकारी लिने कार्य भईरहेको छ’उहाँले भन्नुभयो । समस्या कहाँबाट सृजना भयो भन्ने बारेमा आफुलेहरुले अनुसन्धान सुरु गरेको प्रजिअ चेम्जोङले बताउनुभयो ।

काठ कटान तथा निकासी सम्वद्ध प्रकृयाका लागि ९ चरणको प्रकृया पार गर्नुपर्ने अवस्था रहेको पाइएकोले कुन चरणमा र कसरी समस्या आयो भनेर बुझ्ने र आगामी दिनमा यस्ता समस्या आउन नदिन आफुहरु कडाईका साथ प्रस्तुत हुने चेम्जोङले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts