| |

सुकेटारमा नयाँ वर्ष मनाउनेको भीड

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १ । ताप्लेजुङको सुकेटारमा शुक्रबार नयाँ वर्ष मनाउनेको भीड लागेको छ । सदरमुकाम फुङ्लिङबजार नजिक रहेको सुकेटारमा बिहानदेखि साँझसम्म नयाँ वर्ष मनाउनेहरुको भीड लागेको हो ।
खुला चौर, सुन्दर र रमणीय स्थल भएकाले नयाँ वर्षको दिन सर्वसाधारणको भीडभाड लागेको हो । पर्यटकीयस्थलका रुपमासमेत स्थापित हुँदै गएको सुकेटार क्षेत्रमा नयाँ वर्षको दिन बालबालिका, किशोर किशोरी, युवा, तन्नेरी तथा वृद्धवृद्धासमेत घुमघाम गर्न र मनोरञ्जनका लागि पुगेका थिए ।
एक आकर्षणको केन्द्रको रुपमा सुकेटार विमानस्थल भएको र यस क्षेत्रमा रहेको सिरेटो रिसोर्ट, हिलटोन रिसोर्ट, कालिज कटेजलगायतमा निक्कै घुमघाम गर्नेको भीड लागेको थियो । त्यस्तै खुला चौरी मानिसको उपस्थितिले ढाकेको थियो । नयाँ वर्ष मनाउन सुकेटार क्षेत्र पुगेका अधिकांसले घरबाट नै खानेकुराका परिकारहरु बनाएर लगेर उपभोग गरेका पाइएको थियो । यस्तै केहीले भने सुकेटार क्षेत्रमै खानपानका परिकार बनाएर उपभोग गरेका थिए ।
सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लाका बासिन्दा र छिमेकी जिल्ला पाँचथरको माथिल्लो क्षेत्रका मानिसहरुसमेत सुकेटारमा घुम्न आएका थिए । यसरी नयाँ वर्ष मनाउन साथै घुमघाम गर्न सुकेटार पुगेकाहरु विभिन्न खानपान परिकार साथै गीत सङ्गीतमा रमाइरहेका देखिएको थियो ।
करिव एक घण्टा पैदल यात्रा गरेर सुकेटार पुग्न सकिने भएकाले सदरमुकाम फुङ्लिङका कतिपय मानिस हिँडेर नै उक्त गन्तव्यमा पुगेका थिए । अधिकांसले भने निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु जिप, भ्यान, कार, मोटरसाइकल प्रयोग गरेर नयाँ वर्ष मनाउन गएका थिए । त्यस्तै नयाँ वर्षको दिन शुक्रबार सार्वजनिक विदा भए पनि कतिपय सरकारी नम्बर प्लेटका सवारीसाधन, मोटरसाइक पनि प्रयोग गरिएको पाइएको थियो ।

Similar Posts