|

गर्भवती महिलाको उद्दारमा जनप्रतिनिधि

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १९ । ताप्लेजुङकै दुर्गम तथा बिकट स्थानीय तह हो, फक्ताङ्लुङ गाउँपालिका । फक्ताङ्लुङ गाउँपालिकाका सातवटा वडामध्ये केही सडकको पहँुच पुगेको र अन्य वडाको तुलनामा जिल्ला सदरमुकामदेखि नजिक रहेको वडा नम्बर २ खेजेनिम पर्दछ ।
तुलनात्मक रुपमा सुगम वडा भए पनि खेजेनिमको तिन्दु टोलमा अहिलेसम्म सडक पुगेको छैन । सोही तिन्दु टोलकी एक गर्भवती महिलालाई शनिबार सुत्केरी व्यथाले भेटेपछि परिवारका आफन्त निक्कै आतेसमा परे । गर्भवती महिलालाई सुत्केरी व्यथाले च्यापेको र आफन्त आतेसमा परेको खबर पाएपछि सोही वडामा घर भएका गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बू तत्काल उपस्थित हुनुभयो ।
सडक पहुँच नभएकाले हत्तपत्त उपाध्यक्ष लिम्बूले स्टेचरको प्रवन्ध मिलाउनमा समन्वय गर्नुभयो र आफ्नै अग्रसरतामा गर्भवती महिलालाई स्टेचरमा बोकेर करिव एक घण्टाको पैदल दूरीमा पर्ने खेजेनिम स्वास्थ्य संस्था लैजानतर्फ जुट्नुभयो । सुत्केरी व्यथा लागेकी स्थानीय सोममाया लिम्बूलाई स्टेचरमा बोकाएर गाउँको स्वास्थ्य संस्था पु¥याउँदा यहाँ सम्भव नहुनेभन्दै जिल्ला अस्पताल लैजान सिफारिस (रेफर) गरियो ।
आफैँले स्टेचरमा बोकेर प्रसूति केन्द्र पु¥याइएकी गर्भवतीलाई थप सुविधा भएको स्वास्थ्य संस्था लैजान सिफारिस भएपछि लगत्तै उपाध्यक्ष लिम्बूले गाउँपालिकाबाट गाडी झिकाएर सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताल पठाउनुभयो । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले चढ्ने गाडी (सवारी साधन)मार्फत शनिबार नै गर्भवती महिलालाई जिल्ला अस्पताल पु¥याउने कार्य भयो ।
दुर्गम तथा असुविधा रहेको ठाउँबाट जनप्रतिनिधिको प्रत्यक्ष सहयोगमा सुल्केरी व्यथा लागेको गर्भवतीलाई जिल्ला अस्पताल पु¥याउँदा पाउँदा आफन्त खुसी भएका छन् भने गर्भवती महिला पनि सहज प्रसूति सेवा लिन पाइने भएकोमा ढुक्क रहेको बताइएको छ । यसरी दुर्गम गाउँमा जटिल तथा सङ्कट परेका बेला आवश्यक समन्वय र सहयोग गरेर स्थानीय तहका जनप्रतिनिधि जनताका सारथी नै बन्दै आएका सर्वसाधारण बताउँछन् ।
यस्तै प्रकृति अर्थात गर्भवतीसहित जटिल अवस्थाका विरामीलाई उद्दार गर्ने भनेर फक्ताङ्लुङमा पालिका अध्यक्ष लिम्बूले चढ्ने गाढी सुरुदेखि नै एम्बुलेन्सको रुपमा प्रयोग गरिँदै आएको छ । कार्यकाल सुरु हुँदैदेखि प्रयोगमा ल्याइएको गाउँपालिकाको गाडीमार्फत हालसम्म करिव तीनसय जना बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइएको छ ।
यसै गाउँपालिकाअन्तर्गत जिल्लाकै दुर्गम गाउँ ओलाङ्चुङगोला, याङ्मा, फले घुन्सामा प्रसूति व्यथा तथा सिकिस्त बिरामी भएकाहरुको उद्दार गर्नुपरेमा हेलिकप्टरको प्रयोग गर्ने गरिएको छ । उक्त हिमाली बस्तीहरुमा अझै सडक तथा यातायातको सुविधा पुग्ने अवस्था देखिँदैन ।

Similar Posts