बिपद् पूर्व तयारीका लागि समुदाय जागरण र प्रतिकार्यका लागि टोली तयारी अवस्थामा राख्न मैवाखोलाद्धारा ५ दिने तालिम सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३ । समुदायका सदस्यलाई बिपद् पूर्व तयारी बारे जागरुक बनाउँदै बिपद् प्रतिकार्यमा सक्षम जनशक्ति तयारी अवस्थामा राख्ने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ५ दिने समुदायमा आधारित बिपद् प्रतिकार्य तालिम सुरु गरेको छ ।
बिपद् पूर्व तयारी र प्रतिकार्यमा प्रत्यक्ष संलग्न रहने सरोकारवालाको सहभागितामा शुक्रवारबाट यस्तो तालिम सुरु भएको हो । मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बिपद् पूर्व तयारी र प्रतिकार्यका क्रममा पालिका क्षेत्रका सरोकारवालालाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन तालिम लाभदायक हुने बिश्वास लिनुभयो । बिपद् जोखिम न्यूनीकरण र बिपद् प्रतिकार्यका क्रममा समुदायमा प्रत्यक्ष खटिने सबै सरोकारवाला तालिममा सहभागी भएको उहाँले बताउनुभयो । गाउँपालिकाले आपतकालिन सेवा सञ्चालन केन्द्र समेतको तयारी गरिरहेको र सञ्चालन कार्यविधि मस्यौदाको क्रममा रहेको उहाँले बताउनुभयो ।
जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बिपद् बारे समुदायका सदस्यलाई जानकारी दिने र बिपद् व्यवस्थापन र प्रतिकार्यका क्रममा खटिने पूर्णजानकार सहितको जनशक्ति व्यवस्थापनमा तालिम उपयोगी हुने बिश्वास लिनुभयो । गोर्खा वेल्फेयर सेन्टर ताप्लेजुङका एरिया वेल्फेयर अफिसर मणिकुमार लिम्बूले बिपद् जोखिम पूर्व तयारी र प्रतिकार्यका लागि समक्ष जनशक्ति उत्पादन गरी समुदाय जागरण र बिपद् प्रतिकार्य बिरुद्ध योजना सहित परिचिालित हुने जनशक्ति व्यवस्थापनमा तालिम उपयोगी हुने बताउनुभयो । बिपद् संकेतबिनै आउने भएकोले बिपद् पूर्व तयारी स्वरुप समुदाय जागरण अभियान र बिपद् पछिको प्रतिकार्यका क्रममा योजनाबद्ध ढंगले लाग्नु अनिवार्य भएको महशुष गरेर तालिम आयोजना गरिएको मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले जानकारी दिनुभयो ।
पालिकाको आयोजना,गोरखा वेल्फेयर ट्रष्टको सहकार्य र युके एडको आर्थिक दायित्वमा तालिम सुरु भएको हो । तालिममा गोरखा वेल्फेयर ट्रष्टका बिपद् जोखिम न्यूनीकरण अधिकृत सुमेरु त्रिपाठी र सशस्त्र प्रहरी वल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापा सहित ८ जनाको टोलीले तालिमको सहजीकरण गर्ने भएको छ । गोर्खा वेल्फेयर ट्रष्टमार्फत मैवाखोला गाउँपालिकामा बिक्रम् सम्वत् २०८१ सम्म खानेपानी,सरसफाई र बिपद् व्यवस्थापन सम्वन्धी सहकार्य हुने सम्झौता भई कार्यक्रम कार्यान्वयनमा रहेको मैवाखोला गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts