सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा सम्पन्न अध्यक्ष कप पुरुष भलिबलको उपाधि पाथीभरा याङ्वरकलाई
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको दोस्रो संस्करणको अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधी पाथीभरा याङ्वरकले जितेको छ ।
बिहीबार सम्पन्न फाईनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि जितेको हो । उसले फुनपा बिरुद्ध २५–१५, २५–१९, २१–२५ र २५–१६ को नतिजा निकालेको थियो । बिजेताले २ सय ९६ तोला चाँदी जडित सिरिजङ्गा लिपिको ट्रफीका साथ नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैंयाका साथ मेडल र प्रमाणपत्र पाएको छ । यस्तै द्धितीय हुने फुङलिङले नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका साथ ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । यता सान्त्वना भएका मेरिङ्देन गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ हात पारे ।
बिधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीमा पाथीभरा याङवरकका गिरीराज श्रेष्ठ, उत्कृष्ट ब्लकरमा फुङ्लिङका भवानी भट्टराई, लिप्टरमा पाथीभराका विनोद कार्की,सर्भरमा फुङलिङका अभिषेक भट्टराई, अलराउण्डरमा फुङ्लिङकै अभिषेश राईलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट स्पाईकरमा पाथीभराका लमन दोर्जे तामाङ, डिफेन्समा रविन ईजम, उदयमान खेलाडीमा पाथीभराकै बाबुराम बुढाथोकी र उत्कृष्ट कोचमा सिरिजङ्का शिव तोलाङ्गी सम्मानित हुनुभयो । यसैवीच आयोजकको निर्णय अनुसार एकजना खेलाडीलाई एकवर्षे प्रतिवन्ध लगाएको छ । खेलभावना विपरितको कार्य गरेको भन्दै पालिकाले सिरिजङ्गा गाउँपालिकाका पुजन लिम्बूलाई पालिकाभरका खेलमा एकवर्षसम्मको लागि प्रतिवन्ध लगाएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिनुभयो ।