| | |

दुर्गमका विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, चैत २ । ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ । सिकाइ उपलब्धी प्रवद्र्धन कार्यक्रममार्फत उत्कृष्ट छनोट भएका तीन विद्यालय, तीनजना शिक्षक र १० जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।
जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सम्मान गरेको हो । सम्मानित हुनेमा विद्यालयतर्फ फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभूत विद्यालय र वडा ५ तापेथोकको सरस्वती माध्यमिक विद्यालय रहेको छ ।
यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेको लक्ष्मी माध्यमिक विद्यालय सम्मानित भएको छ । सम्मानित विद्यालयमध्ये सरस्वती माध्यमि विद्यालयलाई २० हजार, लक्ष्मी माध्यमिक विद्यालयलाई २५ र रानी आधारभूत विद्यालयलाई ५० हजार रुपियाँ नगद प्रदान गरिएको रिड नेपालकी शिक्षा विकास अधिकृत रोमाकुमारी माबो लिम्बूले जानकारी दिनुभयो ।
त्यस्तै उत्कृष्ट शिक्षकतर्फ कञ्चनजङ्घा माध्यमिक विद्यालयका शिक्षक लक्ष्मी लिम्बू, विपुधाम आधारभूत विद्यालयका शिक्षक रामकुमार लिम्बू र पाथीभरा आधारभूत विद्यालयकी बाल विकास सहयोगी शिक्षक रामकुमारी लिम्बू सम्मानित हुनुभएको छ । सम्मानित तीनैजना शिक्षकलाई सम्मानपत्रका साथ पाँचहजार रुपियाँका दरले नगद प्रदान गरिएको शिक्षा विकास अधिकृत लिम्बूले बताउनुभयो ।
विद्यार्थीतर्फ डोल्मा भोटे, पोमा लिम्बू, अञ्जु श्रेष्ठ, अभयना लिम्बू, तान्छोमा लिम्बू, निशा तामाङ, सन्देश लिम्बू, सन्तबीर लिम्बू, रिविस केसी र दिया लिम्बू सम्मानित हुनुभएको छ । फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत रहेका सम्मानित विद्यार्थीलाई पनि जनही एकहजार रुपियाँ नगदसहित सम्मान गरिएको रिड नेपालले जनाएको छ ।
यसैगरी सरस्वती च्यारिबुक माध्यमिक विद्यालय व्यवस्थापन समितिकी सदस्य फुपुडोमा शेर्पालाई पनि सम्मान गरिएको छ । रिड नेपालका अनुसार उत्कृष्ट जिम्मेवारी बहन गर्नुभएकी विव्यस सदस्य शेर्पालाई नगदसहित सम्मान गरिएको हो । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), उपाध्यक्ष रवीन साम्रा, सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई लगायतले विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।
विगत केही वर्षयता प्रत्येक वर्ष उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई छनोट सम्मान तथा पुरस्कृत गर्दै आएको रिड नेपालका जिल्ला कार्यक्रम संयोजक राजेन्द्र पन्तले जानकारी दिनुभयो । कार्यक्रम संयोजक पन्तका अनुसार सर्बोत्कृष्ट नतिजा प्राप्त गरेको आधारमा उत्कृष्ट छनोट गरी विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने गरिएको छ ।
यसैबीच रिड नेपालले शिक्षकको पेशागत विकासका लागि १० दिने तालिम प्रदान गरेको छ । आयोजक रिड नेपालले आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न विद्यालयका २० जना शिक्षकलाई तालिम प्रदान गरेको हो । शिक्षक तालिम केन्द्र इनरुवा सुनसरीसमेतको सहकार्यमा गत साताको मंगलबारदेखि बिहीबारसम्म १० दिने तालिम सञ्चालन गरिएको रिड नेपालकी शिक्षा विकास अधिकृत लिम्बूले जानकारी दिनुभयो ।
फक्ताङ्लुङ गाउँपालिकाको इखाबु, लेलेप, तापेथोक, ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, खेबाङ र मामाङ्खेलाई कार्यक्षेत्र बनाएर रिड नेपालले आफ्नो क्रियाकलाप गर्दै आएको छ । जिल्लाका यी दुई गाउँपालिकाका उक्त क्षेत्र तथा वडाहरु विकट साथै दुर्गममा पर्दछन् । शैक्षिक प्रवर्द्धन तथा विकास साथै स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यसहित रिड नेपालले आफ्नो गतिविधि गर्दै आइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts