स्थगित भएको राष्ट्रपति रनिङ शिल्डको ताप्लेजुङ जिल्ला स्तरीय प्रतियोगिता फागुन २३ बाट हुने
ताप्लेजुङ,फागुन १६ । यसअघि स्थगित ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहिँ फागुन २३ देखि २५ गते सम्म सञ्चालन हुने भएको छ ।
जिल्ला खेलकुद विकास समितिले यसअघि स्थगित प्रतियोगिता फागुन २३ देखि २५ गते सम्म सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित तेल्लोक माध्यमिक बिद्यालयको प्रागंणमा सञ्चालन गर्नेगरी पछिल्लो कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूले पालिका स्तरीय प्रतियोगिता सम्पन्न भईसकेकोले अब जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । यसअघि फागुन १० देखि १३ गते सम्म आयोजना गर्नेगरी मिति र कार्यतालिका सार्वजनिक भएको थियो । केहि पालिकाले पालिका स्तरीय प्रतियोगिता नसकेको भन्दै जिखेविसले जिल्ला स्तरीय प्रतियोगिताको सो कार्यतालिका रद्ध गरेको थियो । ९ पालिका रहेको यहाँका सबै पालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेकाले जिखेविसले जिल्ला स्तरीय प्रतियोगिताको नयाँ तालिका सार्वजनिक गरेको हो ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलका अनुसार जिल्ला स्तरीय प्रतियोगितामा ९ स्थानीय तहबाट छानिएका पालिकास्तरीय खेलाडीले प्रतिश्पर्धा गर्ने भएका छन् । उहाँका अनुसार अनुसार प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स,मार्सल आर्ट र उसुतर्फ छात्र÷छात्राका प्रतिश्पर्धा हुने छन् । एथलटिक्सतर्फ छात्र÷छात्राका १ सय मिटर,२ सय मिटर,४ सय मिटर,८ सय मिटर,१ हजार ५ सय मिटर र ३ हजार मिटर दौड सञ्चालन हुने छ । यस्तै रिले दौडतर्फ छात्र छात्रा दुबैका ४×१०० सय मिटर र ४×४०० मिटर दौड सञ्चालन हुने भएको छ । उफ्रने र फ्याक्ने फिल्डको खेलमा छात्रतर्फ हाईजम्प,लङजम्प,त्रिपलजम्प,ज्यालिब्ङ थ्रो ८ सय ग्राम र सटफुट १२ पाउण्ड र छात्रातर्फ हाईजम्प,लङजम्प,त्रिपलजम्प,ज्यालिब्ङ थ्रो ६ सय ग्राम र सटफुट ८ पाउण्डका खेल हुनेछन् । यस्तै मार्सल आर्टतर्फ कराँतेमा छात्रका ४२ किलोग्राम,४७ किलोग्राम र छात्रातर्फ ४० किलोग्राम,४५ किलोग्राम र ५० किलोग्राम मुनिको तौलमा प्रतिश्पर्धा हुने छ । कराँतेमा छात्र छात्रा दुबैको काता एकल प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । तेक्वान्दोमा छात्रतर्फ ४५ किलोग्राम,४८ किलोग्राम र ५१ किलोग्राम तथा छात्रातर्फ ४२ किलोग्राम,४४ किलोग्राम र ४६ किलोग्राम मुनिको तौलमा प्रतिश्पर्धा हुने भएको छ । उसुतर्फ छात्र छात्राका चाङ्क्वान,नानक्वान र ताईजीक्वानका खेल हुनेछन् ।