प्रदेश १ का १४ जिल्लाका दुई–दुईवटा पालिकामा वास प्लान्ट’योजना सुरु गर्ने प्रदेश मन्त्री मेन्याङ्वोको घोषणा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ११ । प्रदेश १ सरकार खानेपानी,सिचाँइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्वोले प्रदेश १ का १४ जिल्लाका कम्तिमा दुई–दुई वटा पालिकामॉवास प्लान्ट’योजनाको घोषणा गर्नु भएको छ ।
खानेपानीका स्रोत देखि खानेपानीको समस्यासम्मका बिषयको बिस्तृत प्राविधिक अध्ययन प्रतिबेदन तयार गरी दीर्घकालिन योजना बनाउने उद्देश्य सहित ‘वास प्लान्ट’योजना अघि बढाउन लागेको मन्त्री मेन्याङ्वोले जानकारी दिनुभयो । प्रेश चौतारी नेपाल ताप्लेजुङले बिहीबार सदरममुकाम फुङलिङस्थित होटल पाथीभराको सभाहलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मेन्याङ्वोले उक्त योजनाको घोषणा गर्नु भएको हो । उहाँका अनुसार पहिलो चरणमा प्रदेश १ का १४ जिल्लाका प्रत्येक दुई–दुई वटा पालिकामा यस्तो योजना अघि बढाईने छ । क्रमागत रुपमा प्रदेशभरीका सबै पालिकाहरुलाई योजनामा समेट्ने लक्ष्य रहेको समेत उहाँले खुलाउनुभयो । पहिलो चरणमा ताप्लेजुङको फुङलिङ नगरपालिका र आठराई त्रिबेणी गाउँपालिकामा वास प्लान्ट योजना सुरु हुने छ । ताप्लेजुङ बाहेक प्रदेश १ का अरु १३ जिल्लाका दुई–दुई वटा पालिकामा यस्तो योजना अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
मेन्याङ्वोका अनुसार योजनामा समावेश भएका पालिकामा प्राविधिकहरुको टोली खटाई खानेपानीको तत्कालिन तथा दीर्घकालिन समस्या,पानीका उपलब्ध स्रोतहरु,स्रोतको तत्कालिन अवस्था र उपयोगिताका आधार,खानेपानी ट्याङ्की,सो पालिकाभरीमा उपयोगका लागि चाहिने पानीको परिमाण र पानी उपलब्धताका लागि चाहिने अन्य संरचना तथा पूर्वाधार समेतको अध्ययन हुने छ ।‘पानी मात्र नभएर पानी उपयोग गर्न योग्य र गुणस्तरीय समेत हुनुपर्छ भन्ने ध्येय सहित योजना अघि बढाईएको हो’पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो । प्राविधिक प्रतिबेदन प्रदेश सरकारको सम्पत्तिको रुपमा रहने र त्यहिँ प्रतिबेदनका आधारमा गुणस्तरीय खानेपानी प्रवाहको योजना अघि बढ्ने मन्त्री मेन्याङ्वोले बताउनुभयो । उहाँले तीन तहका सरकारले अब बिद्युतीय सवारीको खरिद र प्रवद्र्धनका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।
बिद्युतको प्रवल सम्भावना रहेको नेपालमा बिद्युतको खपत समेत हुनेगरी सरकारले बिद्युतीय सवारीको प्रयोग र प्रवद्र्धनमा बिशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । पेट्रोलियम पदार्थको खपत घटाउन तथा बिद्युतको खपत बढाउने योजना अघि सार्नुको बिकल्प नरहेको बताउँदै उहाँले आफ्नो मन्त्रालयले त्यहिँ योजना अनुरुप बिद्युतीय सवारीको चार्जिङ स्टेशन निर्माणको प्रकृया अघि बढाएको समेत बताउनुभयो । बैदेशिक व्यपार घाटा नियन्त्रणको एक मजवुत उपाय बिद्युतीय सवारी साधनको प्रयोग र प्रवद्र्धन हुने उहाँको बिश्वास थियो । मन्त्री मेन्याङ्वोले मन्त्रीको पदभार ग्रहण गरेकै दिन प्रदेश १ का उपयुक्त स्थानहरुमा बिद्युतीय चार्जिङ स्टेशन निर्माण सुरु गर्ने निर्णय गर्नु भएको थियो ।
मन्त्री मेन्याङ्वोले जतिसक्दो चाँडो प्रदेशको नामाकरण गर्नेगरी सरकारले संसदलाई बिजनेस दिने तयारी गरिरहेको समेत जानकारी दिनुभयो । त्यसका लागि संसद भित्र र बाहिर रहेका दलहरुसंग समेत सम्बाद र सहकार्य अघि बढाउने प्रदेश सरकारको तयारी रहेको उहाँको भनाई थियो । विगतमै भईसक्नुपर्ने प्रदेश सरकारको नामाकरणको बिषय अहिलेको सरकार र सदनको प्रमुख प्राथमिकताको बिषय भएको मन्त्री मेन्याङ्वोले बताउनुभयो । एमाले पोलिटब्युरो सदस्य समेत रहेका मेन्याङ्वोले एमालेले सुरु गरेको ‘मिसन ग्रास रुट’ अभियानले पार्टीको अवस्था अहिले भन्दा बढी शसक्त,क्रियाशिल र सुद्रिढ हुने बिश्वास लिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्धय श्रीप्रसाद जवेगु र खगेन्द्र राई सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts