| | |

दोखुका जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ । वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडावासी जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।
फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले प्रत्येक टोल र घर–घरमा पुगेर जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गर्नुभएको हो । वडाभित्रका ७० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई एक–एक थान सिरक वितरण गरेको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
उहाँकाअनुसार ८ नम्बर वडाअन्तर्गत दोखुको हिटी, मेवाराजा, ल्याङ्बा, साप्तेल, भेदाबारी, बहानन्दे, चारपाटे, घ्याङ, नाम्लेपाटी, काभ्रे, रमिते र बेजम्बु टोलका गरी १५० जना जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ । हिड्नसक्ने सम्बन्धित टोलमा एकठाउँमा जम्मा गराएर र नसक्ने जेष्ठ नागरिकलाई घर–घरमै पुगेर सिरक वितरण गरेको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।
हालको जाडो मौसममा न्यानो सिरकले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा राहत पुग्ने विश्वास राखिएको वडा कार्यालयले जनाएको छ । स्थानीय सरकारको भूमिकामा रहेको जिल्लाका स्थानीय तहले हाल जेष्ठ तथा विपन्न नागरिकलाई न्यानो सिरक वितरण गर्ने, घर–घरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गरी दिने, पालिका पदाधिकारीले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्नेजस्ता रचनात्मक कार्यहरु गर्दै आएका छन् ।

Similar Posts