न्यू कञ्चनजङ्घा सहकारीमा पुनः गुरुङ चयन

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ स्थित न्यू कञ्चनजङ्घा कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा यीगेन्द्रकुमार गुरुङ चयन हुनुभएको छ । सहकारीको छैटौं अधिवेशन तथा १७ औं साधारणसभाले आगामी कार्यकालका लागि गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सदरमुकाम फुङ्लिङमा सम्पन्न जिल्ला अधिवेशन तथा साधारणसभाले गुरुङको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा धनबहादुर थापा, सचिव भीमबहादुर गुरुङ र कोषाध्यक्षमा गङ्गाराम गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा अन्जना गुरुङ, उमा गुरुङ, मेनुका गुरुङ, दीपक गुरुङ र खगेन्द्र नेपाली सर्बसम्मत चयन हुनुभएको निर्वाचन संयोजक देवराज गुरुङले जानकारी दिनुभयो ।
यस्तै तीन सदस्यीय लेखा समितिको संयोजकमा अमृतबहादुर लिम्बू चयन हुनुभएको छ । लेखा समितिको सदस्यद्वयमा चन्द्रमणि न्यौपाने र दीपक तिवारी रहनुभएको छ ।
यता साधारणसभाले कृषि, पशुपालन तथा व्यवसाय र शेयर सदस्यको जीवन परिवर्तनका लागि रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सभाले गरेको निर्णय तथा योजनालाई प्रभावकारी कार्यान्वयनका लागि सक्रिय रहने नव–निर्वाचित अध्यक्ष गुरुङले प्रतिवद्धता जनाउनुभएको छ । सहकारीले गत आर्थिक वर्षमा तीन करोड ८४ लाख रुपियाँ बराबरको कारोबार गरेको पनि जनाएको छ ।