| | |

चुनाव हारेपनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, मङ्सिर १९ । ताप्लेजुङमा मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका खेलप्रसाद बुडाक्षेत्री (पराग) ले गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद दिँदै आउनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका बुडाक्षेत्रीले चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन उहाँ गाउँगाउँ पुग्न थाल्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज बुडाक्षेत्री निर्वाचनको परिणाम आएलगत्तै मतदातालाई धन्यवाद दिन गाउँ पस्नुभएको हो । आफूलाई भोट दिएर विजयीको सन्निकट स्थितिमा पु¥याएकोभन्दै मतदाताको मतको सम्मान गर्न गाउँगाउँ पुगेर उहाँले मतदातालाई धन्यवाद दिँदै आउनुभएको छ ।
गाउँगाउँमा पुगेर आफूलाई मतदान गरेकोमा मतदातालाई धन्यवाद दिँदै यसपटकको चुनावमा आफू अफसल भए पनि जनताको सुख, दुःखसँग हातेमालो गर्दै सधैँ जनताको साथमा रहने उहाँले प्रतिवद्धतासमेत जनाउँदै आउनुभएको छ । चुनावमा पराजित भए पनि देशका ठूला राजनीतिक दलमध्ये एक माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा जिल्लाको नेतृत्वको हैसियतले यहाँका जनताको हितलाई केन्द्रमा राखेर आफूले समय खर्चने उहाँले बताउनुभएको छ ।
उहाँले जनताकै साथमा रहेर समग्र जिल्लाको विकास, योजना अन्य कामका लागि संघ, प्रदेश र स्थानीय सरकारका साथै सरोकारवाला निकायसँग समन्वय र पहल गरिरहने उहाँले बताउनुभएको छ । गाउँगाउँमा मतदाता एवम् पार्टीका स्थानीय नेता कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै उहाँले विकास योजना र आवश्यक रहेको कार्यक्रमका लागि सम्बन्धित क्षेत्रका जनताको सल्लाह लिएर आफूले काम गर्ने बताउनुभएको छ । उहाँले सार्वजनिक महत्व र सामाजिक कार्यका लागि सबैको साथ सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यको एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गठबन्धनको साझा उम्मेदवार बन्नुभएका बुडाक्षेत्री २०८ मतको झिनो मतान्तरले नेकपा (एमाले) का सचिवसमेत रहनुभएका योगेशकुमार भट्टराईसँग पराजित हुनुभएको हो । भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी हुँदा बुडाक्षेत्रीले २१ हजार ७३५ मत पाउनुभएको थियो ।
यसैगरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भट्टराई, प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित तिलकुमार मेन्याङ्बो र प्रदेश निर्वाचन क्षेत्र १ (ख) मा निर्वाचित प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले पनि गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद दिँदै विजयीको खुशी साटासाट गर्दै आउनुभएको छ । मेन्याङ्बो नेकपा (एमाले) का तर्फबाट र हाङगाम नेपाली काँग्रेसका तर्फबाट गठबन्धनको साझा उम्मेदवार भई निर्वाचित हुनुभएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts