ताप्लेजुङमा सञ्चालित म्याराथनमा खुल्लातर्फ जुम्लाका कुँवर र हाफ म्याराथनतर्फ ताप्लेजुङकी समपाल्मुले जिते उपाधि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । ताप्लेजुङमा सञ्चालन भएको खुल्ला म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जित्नु भएको छ । महिला हाफ म्याराथनको उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जित्नुभयो ।

कुँवरले सदरमुकाम फुङलिङदेखि देखि करिव ३ हजार ८ सय मिटर उचाईको पाथीभरा मन्दिर पुगेर फेरी सदरमुकाम सम्म फर्कने गरी तोकिएको दुरी ४ घण्टा १२ मिनेट २७ सेकेण्डमा पूरा गर्नु भयो । तातोपानी गाउँपालिका वडा नं ७ स्थायी घर भई कर्णाली स्पोर्टिङ क्लवमा आबद्ध कुँवरले यसअघि ६२ किलोमिटर दुरीको रुकुम म्याराथन जित्नु भएको थियो भने ५० किमी दुरीको जुम्ला म्याराथनमा भने दोस्रो हुनु भएको थियो । सोहि दुरी डोटीको शिखर नगरपालिका घर भई नेपाल आर्मीको गजुरी धादिङस्थित शिवदल गणमा आवद्ध खगेन्द्रबहादुर भाटले ४ घण्टा १२ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै द्धीतीय हुनुभयो । पाँचथरको फिदिम नगरपालिका वडा नं ११ घर भई पाँचथरस्थित रणशेर गणमा आवद्ध नपाली सेनाका राजन मेयोङबाले ४ घण्टा १२ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै खुल्लातर्फ तेस्रो हुनुभयो । उता,सदरमुका फुङ्लिङदेखि काफ्लेपाटी सम्मको दुरी ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा पूरा गर्दै समपाल्मु प्रथम हुनुभएको छ । राष्ट्रिय खेलकुदका लागि एथलेटिक्स बिधामा सहभागिता जनाएर प्रादेशिक खेलबाट प्रथम हुनु भएकी समपाल्मुले राष्ट्रिय खेलमा डेब्यु गर्ने मौका सुरक्षित गरेपछि दोस्रो सफलता पाउनु भएको छ । भोजपुरकी छेन्वीमाया राईले ४ घण्टा ९ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै महिला हाफ म्याराथनतर्फ दोस्रोस्थान सुरक्षित गर्दा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङकी पेम्बाल्हामु शेर्पाले ४ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै तृतीय हुनुभयो । खुल्ला म्याराथनतर्फ प्रथम हुने कुँवरले लाख प्रतियोगितामा १ लाख ५१ हजार १ सय ११ रुपैंया,द्धीतीय हुने भाटले नगद १ लाख ३१ हजार १ सय ११ रुपैंया र तृतीय हुने मेयोङबाले नगद १ लाख ११ हजार १ सय ११ रुपैंयाका साथ सबैले ट्रफी,मेडल र प्रमाणपत्र पाउनु भएको छ । यस्तै महिला हाफ म्याराथनतर्फ प्रथम हुने समपाल्मुले नगद ८१ हजार १ सय ११,द्धीतीय हुने छेन्बीले नगद ५१ हजार १ सय ११ र तृतीय हुने पेम्बाल्हामुले नगद ३१ हजार १ सय ११ रुपैंयाका साथ प्रत्येकले सबैले ट्रफी,मेडल र प्रमाणपत्र पाउनु भएको छ । खुल्लातर्फ १ सय ३५ र महिला हाफ म्याराथनतर्फ २४ जना प्रतिश्पर्धी हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली सेनाका बाहिनीपति सहदेव खड्का र प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री बलहादुर साम्सोहाङ लगायत र महोत्सव मूल आयोजक समिति संयोजक तारानाथ घिमिरे सहितले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,बिभिन्न गाउँपालिकाका अध्यक्षहरु,नेपाली सेनाका सहायक रथी कृष्ण भण्डारी,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल सहित सुरक्षा निकायका प्रमुखहरु,फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा सहित गाउँपालिका उपाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । पाथीभरा क्षेत्रको प्रचारप्रसार र प्रर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ असोज ११ देखि १३ गते सम्म ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव चलेको थियो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास र यहाँस्थित नेपाली सेनाको भीमकाली गुल्म म्याराथन तथा महोत्सवको संयुक्त आयोजक थिए । कार्यक्रमको मुख्य प्रायोजन हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिले गरेको थियो ।

Similar Posts