आफ्नै भूगोल प्रयोग गरेर सिरिजंगा र सिदिङ्वा जान सक्नेगरी फावाखोलामा बन्यो पक्की पुल

ताप्लेजुङ,असोज ११ । ताप्लेजुङको आफ्नै भूगोल प्रयोग गरी सिरिजङ्गा र सिदिङ्वा गाउँपालिका सम्म जान सकिने मार्ग फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाको संगमस्थल फावाखोलामा पक्की पुल बनेको छ ।

देउराली–सिम्बु–कुञ्जारी–सिकैचा सडक अन्र्तगत फावाखोलामा निर्मित पक्की पुलको प्रदेश १ सरकारका उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गर्नु भएको छ । हाङ्गामले यो पुल ताप्लेजुङका दुईपालिका फुङलिङ र सिरिजङ्गा जोड्ने सेतुमात्र नभई ताप्लेजुङको आफ्नै भूगोलभित्रको रमाउन सकिने बिम्वको रुपमा रहने बताउनुभयो ।‘पुल मात्र बनेको छैन,यसले जिल्लाको समग्र यातायात कठिनाईलाई समेत हल गरेको छ’पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै हाङ्गामले भन्नुभयो । यो ठाउँमा पुल नहुँदा अहिले सम्म सिरिजङ्गा र सिदिङ्वा गाउँपालिका आउँदा–जाँदा पाँचथरको काबेली–गणेशचौक–थर्पु हुुँदै ताप्लेजुङको अन्य भूगोल सम्म आवतजावत गर्नुपर्ने हुन्छ ।

फुङलिङको देउराली–लालीखर्क–तेम्बेवा हुँदै जाने सडकको अवस्था राम्रो भए सिदिङ्वा र सिरिजङ्गाको वल्लोभाग बाहेक अन्यत्र जान अब यहिँ मार्ग प्रयोग गर्न सकिन्छ ।‘सिरिजङ्गातर्फको भाग बरु ठीकै देखिन्छ,फुङलिङतर्फको भाग पनि राम्रो बनेमा यो सडक सिरिजङ्गा गाउँपालिकाका बिभिन्न स्थान पुग्न छोटो मार्ग हो’सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका वडाध्यक्ष दिलबिक्रम बोखिमले भन्नुभयो । प्रदेश सरकार अन्र्तगत रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पुल निर्माणका लागि २०७६ साल असोज १४ गते रायमाभी–हिमालयन् जेभीसंग सम्झौता अनुसार पुलको निर्माण कार्य निर्धारित मिति अगावै सम्पन्न भएको हो । २०७९ साल असार २९ गते सम्पन्न भएपनि बर्खाको समयका कारण उद्घाटन कार्य भने केहि पछि गरिएको रेड्डीले जानकारी दिनुभयो ।

भ्याट सहित ५ करोड ५७ लाख ८८ हजार २ सय ६३ रुपैंया कूल लागत रहेको २६.२० मिटर लम्बाई रहेको पुलको दुबैतर्फ मानिस आवागमन गर्न सकिने ठाउँ समेत रहेको छ । पुल कूल बजेट भन्दा झण्डै १६ लाख रुपैंया कममै निर्माण सम्पन्न भएको छ । निर्माण कम्पनी रायमाभी–हिमालयन् जेभीका प्रतिनिधि ईन्द्र केदेमले निर्धारित बजेट र समयावधि भन्दा अघि नै कार्य सम्पन्न गर्न सक्नुमा आफ्नो टिमको निरन्तरको मेहनेत र जोडबल रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग),नेकपा एमाले सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष सन्तोष चाम्लिङ,फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाका वडाध्यक्ष युवराज(योगेश)भट्टराई सहितले पुल निर्माण भएपछि फेरिने सामाजिक जीवन र अब तत्तत् निकायले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रष्ट्याउनु भएको थियो । पुलको शिलान्यास भने तत्कालिन १ नं प्रदेशसभाका सांसद तथा पूर्व सामाजिक विकास मन्त्री साम्सोहाङले गर्नु भएको थियो ।

Similar Posts