यातायात सञ्चालनमा अवरोध नगर्न ताप्लेजुङका यातायात व्यवसायीको अपिल(विज्ञप्ति सहित)

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ८ । ताप्लेजुङका यातायात व्यवसायीहरुले पाथीभरा महोत्सव आयोजक पक्ष र मुकुम्लुङ संघर्ष समितिले आपसी सहमतिमा बिबाद समाधान गर्नुपर्ने भन्दै यातायात सञ्चालनमा अवरोध नगर्न नगराउन आग्रह गरेका छन् ।

‘सम्पूर्ण ताप्लेजुङका यातायात व्यवसायीहरु’का नामबाट जारी विज्ञप्तिमा कोभिड संक्रमणमा क्रममा सुकेको आफ्नो व्यवसाय बन्दका कारण थप मारमा पर्ने र बैंक तथा साहुको ऋण तिर्न नसकी व्यवसायको चल अचल सम्पत्ति लिलाम हुन अवस्थामा पुगेको भन्दै आफुहरु यातायात बन्द गर्ने अवस्थामा नरहेको अवगत गराएका छन् । जारी विज्ञप्तिमा भनिएको छ,‘पाथीभरा महोत्सव आयोजक पक्ष र मुकुम्लुङ संघर्ष समिति बीचको बिबादका कारण यातायात बन्द हुँदा सम्वन्धित पक्षलाई मात्र असर पर्ने नभई सर्वसाधरण जनताको दैनिकी समेतमा असर पर्ने भएकोले हामी यातायातका साधन बन्द गर्न असमर्थ छौं । त्यसैले आन्दोलनरत पक्षले आवäान गरेको समयमा समेत सदाका दिन झैं नियमित यातायातका साधन सञ्चालन हुने जानकारी गर्दछौं ।’विज्ञप्तिमा सदा झैं नियमित रुपले यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

जारी विज्ञप्तिमा विगत देखि नै बडादशैं सहित नेपालीहरुका महानपर्वका बेला पाथीभरा मन्दिरमा दर्शनार्थीको घुईचो लाग्ने भएकोले आउने तिर्थालुका लागि आफुहरुले यातायातका साधनहरुको पर्याप्त व्यवस्था गर्दै आएको स्मरण गर्दै यसपटक पनि तिर्थालुका लागि यातायातका साधनको व्यवस्था भएको उल्लेख गरिएको छ । मन्दिरमा आउने तीर्थालुका लागि यातायातका साधन व्यवस्थाको चक्र चलिरहेको अवस्थामा अचानक असोज ९ देखि १३ गते सम्म सवारी साधन बन्दको आवäान भएकोेप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको यातायात व्यवसायीले विज्ञप्तिमा उल्लेख गरेका छन् । आयोजक पक्ष र आन्दोलनरत पक्षबीच पटक पटक सहमतिका लागि वार्ता र छलफल भएको आफुहरुले सुनेको तर अचानक यातायात व्यवसाय बन्द हुने कुुरा आफुहरु अचम्मित भएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महोत्सव तथा म्याराथन निर्वाध रुपमा चल्ने,अन्य कार्यक्रम चल्ने तर यातायात व्यवसाय क्षेत्रमा भने बन्दको आवäान गर्ने बिषय शोभनीय नभएको भन्दै यातायात व्यवसायीले सम्वन्धित पक्षले यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने भनेका छन् । उनीहरुले दुबै पक्षको बीचको टकरावमा यातायात व्यवसायीलाई नमुछ्न आग्रह समेत गरेका छन् । मुकुम्लुङ संघर्ष समितिले पाथीभरा महोत्सवको नाम मुकुम्लुङ महोत्सव हुनुपर्ने सहितका आफ्ना माग पूरा नभएको भन्दै असोज ९ देखि १३ गते सम्म सवारी साधन बन्दको आवäान गरेको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्तिथ भीमकाली गुल्मको आयोजनामा यहाँ असोज ११ देखि १३ गते सम्म पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुँदै छ । जिल्ला सुरक्षा समितिले भने शुक्रवारै विज्ञप्ति जारी गरी पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव र चाडपर्वहरु हर्षोल्लासका साथ सम्पन्न गराउन जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारी भरपर्दो शान्ति सुरक्षा प्रदान गर्ने निर्णय गरेको भन्दै भयरहित रुपले महोत्सव तथा चाडपर्वहरुमा सहभागिता जनाउन आग्रह गरिसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts