अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्र मत दिन पाउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्र मत दिन पाउने गरी अस्थायी मतदाता नामावली सम्वन्धी कार्यविधि देशभरका जिल्ला निर्वाचन कार्यालयहरुमा पठाएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलनका लागि कार्यविधि र प्रकृयाको सूची पठाएको छ । तर उहाँका अनुसार मतदाता नामावली कहिलेबाट संकलन गर्ने भन्ने बारे केहि खुलाइएको छैन ।

कार्यविधिमा आयोगले अस्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रम सहितको सूचना प्रकाशन गर्ने उल्लेख गरिएको छ । नेपाल सरकार,प्रदेश सरकार स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी,ब्यारेकमा रहेका नेपाली सेना,नेपाल प्रहरी वा सशस्त्र प्रहरी,कारागारका रहेका थुनुवा र कैदी,निर्वाचनको कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी,नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालनमा रहेको बृद्धाश्रममा बसेका व्यक्तिको नाम अस्थायी मतदाता नामावलीमा समावेश गर्ने कार्यविधिमा उल्लेख छ ।

तर,कारागारमा रहेका थुनुवा वा कैदीको हकमा निर्वाचन कसुरमा सजाय भोगिरहेका व्यक्तिको नाम भने अस्थायी मतदाता नामावलीमा समावेश गर्न नसकिने आयोगले भनेको छ । कार्यविधिमा कर्मचारी भन्नाले नेपाल सरकार,प्रदेश सरकार तथा स्थानीय तहका सबै सेवा,समूहमा कार्यरत स्थायी,अस्थायी र करारमा कार्यरत कर्मचारी सम्झनु पर्ने परिभाषा गरिएको छ । यो शब्दले बिद्यालय र विश्व बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई समेत जनाउने कार्यविधिले परिभाषित गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts