म्याराथन तथा महोत्सवलाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षरोपण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २९ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ लाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षरोपण गर्न थालिएको छ ।

पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको समन्वयमा नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्मले ३१ गते सम्मका लागि सफाई कार्यक्रम तय गरेको हो । काफ्लेपाटीबाट उभों पाथीभरा मन्दिर सम्मनै सफाई अभियान सञ्चालन भईरहेको भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले जानकारी दिनुभयो । सेनाले ठूलो फेदीबाट मन्दिर सम्मको सफाईका क्रममा करिव ४ सय बोरा फोहोर संकलन गरेको जनाएको छ । गुल्मपति श्रेष्ठका अनुसार संकलित फोहोरमध्ये कम हिलो भएको र तत्काल बोक्न मिल्नेलाई काफ्लेपाटी सम्म झारिदैं छ । हिलो भएको,धेरै भिजेको र तत्काल बोकेर तल सम्म ल्याउन नसकिने प्रकृतिको फाहोरलाई निश्चित ठाउँमा राखेर केहि समयपछि काफ्लेपाटी सम्म बोकेर त्यसपछि फुङलिङ नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र सम्म पुर्याउने योजना बनेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले काफ्लेपाटी सम्म आइपुगेको फोहोरलाई व्यवस्थापन गर्ने बारे फुङलिङ नगरपालिकासंग समन्वय भइरहेको जानकारी दिनुभयो । शिकारीडाँडास्थित नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रसम्म पु¥याएर फोहोर व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ । सफाई अभियान,फोहोर ढुवानी र वृक्षरोपण सहितका कार्यको स्थलगत समन्वयका लागि भीमकाली गुल्मले उपसेनानी निरञ्जन चौहानको नेतृत्वमा एउटा टोली पाथीभरा मन्दिर क्षेत्रमा खटाएको छ । यो टोलीले सफाई अभियानसंगै तत्काल बोक्न मिल्ने संकलित फोहोर काफ्लेपाटी सम्म ल्याउने छ । उपसेनानी चौहानका अनुसार संकलित फोहोरमध्ये करिव डेढसय बोरा फोहोर तत्कालै काफ्लेपाटी सम्म झार्न सकिन्छ । यसपछि बाँकी रहेको फोहोर र काफ्लेपाटीसम्म आइ पुगेको फोहोर व्यवस्थापनका कार्य सुरुहुने भीमकाली गुल्मले जनाएको छ ।

सफाई अभियानसंगै सेनाको टोलीले आसन्न म्याराथन तथा महोत्सवमा सक्रिय सहभागिता र यसको सफलताका लागि स्थानीय समुदायलाई सचेतीकरण गर्ने कार्य समेत गरिरहेको छ । पाथीभरा क्षेत्रका स्थानीय र दर्शन गर्न आउने भक्तजनलाई महोत्सवका बारेमा जानकारी गराई सहभागिताका लागि आमन्त्रण गर्ने कार्य समेत भइरहेको गुल्मले जनाएको छ । पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति र भीमकाली गुल्म आउँदो असोज ११ गते देखि १३ गते सम्म यहाँ हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका संयुक्त आयोजक हुन् ।

यसैबीच पाथीभरा क्षेत्र विकास समिति र संरक्षण समिति,डिभिजन वन कार्यालय,स्थानीय सामुदायिक वन उपभोक्ता समूह,पाथीभरा क्षेत्रका बासिन्दा र व्यवसायी तथा माथिल्लो फेदीमा रहेको प्रहरी चौकी समेतको सहभागितामा सो क्षेत्रका दुईवटा सामुुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । मयाम पातल सामुदायिक वन उपभोक्ता समूह र सिम्बु सामुदायिक वन उपभोक्ता समूह समेतको सहभागितामा यि दुई वनक्षेत्रको खाली जग्गामा वृक्षरोपण गरिएको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललितकुमार यादवले ति सामुदायिक वन क्षेत्रको माटो सुहाउँदो बिरुवा बितरण भएको बताउनुभयो । लामो समय सम्म सामुदायिक वन क्षेत्रमा बिताएका जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम वृक्षरोपण पछि अबको दायित्व बिरुवाको संरक्षण र जर्गेनामा ध्यान दिनुपर्ने बताउनुहुन्छ । बिरुवा रोपण भएको क्षेत्रलाई बस्तुभाउबाट टाढै राख्ने,घेराबारा र हेरचाहमामा ध्यान दिने हो भने संरक्षणका लागि योगदान पुग्ने उहाँले बताउनुभयो । पाथीभरा क्षेत्रमा हिउँको असरले समेत बिरुवा हुर्कनमा असर गर्ने गरेको बताइन्छ ।
फोटो ः पाथीभरा क्षेत्रमा संकलन भएको फोहोर बोकेर काफ्लेपाटीतर्फ झार्दै भीमकाली गुल्मको टोली । साथमा सरोकारवालाको सहभागितामा पाथीभरा क्षेत्रमा वृक्षरोपण गरिंदैं ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts