्उम्मेदवार सिफारिस बारे काँग्रेसमा जुट्यो सहमति,प्रतिनिधिसभातर्फ दावेदारी प्रस्तुत गर्ने सबैको नाम सिफारिस गरिने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १९ । प्रदेशसभातर्फ उम्मेदवार टुङ्ग्याएको नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मनोनयन भएका सबै नामावली सिफारिस गर्नेगरी सहमति जुटाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ३ जनाले दावेदारी प्रस्तुतगरी आवेदन दिनु भएको थियो । प्राप्त आबेदन उपर एकपक्षले निर्वाचनमार्फत टुङ्गाउनुपर्ने र अर्कोपक्षले प्राप्त नामावलीलाई जस्ताको तस्तै सिफारिस गर्नुपर्ने अडानका कारण शनिवार सहमति बनेको थिएन । सहमति खोज्न आइतवार बिहान बसेको छलफलले दावेदारी प्रस्तुत गर्ने क्रममा गरेको मनोनयनलाई आधार मानेर सिफारिस गर्नेगरी सहमति जुटाएको काँग्रेस ताप्लेजुङ प्रदेश १(क)का सभापति लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेसले आइतवार दिउँसो पत्रकार सम्मेलनमार्फत प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका बारेमा भएका निर्णय र सिफारिस प्रकृया सार्वजनिक गर्ने भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,महाधिबेशन प्रतिनिधि तथा पूर्व राज्यमन्त्री मणि लामा, महाधिबेशन प्रतिनिधि तथा प्रदेश १ सरकारका मन्त्री प्रतापप्रकाश हाङ्गाम, महाधिबेशन प्रतिनिधि तथा सिरिजङ्गा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङ र महाधिबेशन प्रतिनिधि बलबहादुर तामाङले दावेदारी प्रस्तुत गर्नु भएको थियो । समानुपातिकतर्फ भने महाधिबेशन प्रतिनिधि तथा पूर्व जिल्ला सभापति लीलादेवी बोखिम, महाधिबेशन प्रतिनिधि युवराज गुरुङ र महाधिबेशन प्रतिनिधि शीला ईजमले दावेदारी प्रस्तुत गर्नु भएको थियो । ईजमको नाम प्रदेशसभाको समानुपातिकतर्फ पनि सिफारिस सूचीमा अटाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts