ताप्लेजुङमा करिव २७ करोडको लगानीमा जम्बुढाँडे–मैदाने खोला खानेपानी आयोजना सुरु हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १७ । करिव २७ करोड रुपैंयाको लागतमा ताप्लेजुङ फुङलिङ नगरक्षेत्र र आसपासमा नियमित,शुद्ध र पर्याप्त पानी आपूर्ति गराउने गरी जम्बुढाँडे–मैदाने खोला खानेपानी आयोजना सुरु हुने भएको छ ।
संघीय सरकार खानेपानी आयोजनामार्फत आर्थिक बर्ष २०८४।०८५ सम्ममा योजना पूरा हुनेगरी आयोजना कार्यान्वयनको सम्झौता भएको हो । आयोजनाको निर्माणको जिम्मेवारी स्वामी नारायण निर्माण सेवा बिराटनगरले पाएको छ । ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवनिर्मित भवनको उद्घाटन समारोहमा समितिका सचिव रणबहादुर कार्कीले उक्त जानकारी गराउनु भएको हो । उहाँका अनुसार यो खानेपानी आयोजना पूरा भएपछि प्रतिसेकेण्ड १५ लिटर पानी प्रवाह हुने छ । योजना सञ्चालनका लागि ठेक्का रकमको १ प्रतिशत अर्थात् करिव २७ लाख रुपैंया उपभोक्ता समितिले बहन गर्नुपर्ने भएको छ ।
योजना अन्र्तगत सदरमुकाम फुङलिङबाट ३१ किलोमिटर टाढा फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोलामा रहेको जम्बुढाँडे–मैदाने खोलाको पानी ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र मातहतका संरचनामा जोडिने छ । पहिले तयार भएको बिस्तृत परियोजना प्रतिबेदन अनुसार देउराली भित्री सामुदायिक वन क्षेत्रमा तयार हुने संरचनामार्फत पानी फिल्टरिङ र भण्डारण गरी देउराली,सुकेटार र सो आसपासका क्षेत्रमा पानी प्रवाह हुने छ । चनौटे क्षेत्रमा निर्माण हुने संरचनामार्फत पानी फिल्टरिङ र भण्डारण गरी त्यसक्षेत्र आसपास र क्याम्पस लाइन सम्म पानी प्रवाहको प्रवन्ध गरिने छ । यस्तै नर्सरी क्षेत्रमा अहिले कायम रहेका र नयाँ बन्ने सरंचनामार्फत फुङलिङ नगरपालिकाको वडा नं १ देखि ८ सम्मका घरधुरीमा पानी प्रवाह हुने व्यवस्था मिलाइने समेत कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार फुङलिङमा २०३४÷०३५ सालमा जिल्ला खानेपानी कार्यालयमार्फत ३६ घरमार्फत पानी आपूर्ति सेवा सुरु भएको पाइन्छ । २०५६ साल देखि उपभोक्ता समितिमार्फत खानेपानी आपूर्ति भइरहेको र अहिले १ हजार ९ सय ५० खानेपानी ग्राहक रहेको ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति कमलप्रसाद गुरागाँईले जानकारी दिनुभयो । उपभोक्ता समितिसंग अहिले कूल १२ लाख ६० हजार लिटर पानी भण्डारण गर्नसक्ने क्षमताका ट्याङ्की रहेका छन् । फुङलिङ–५ उकालीपानीमा ३ लाख २० हजार लिटर,फुङलिङ–८ सालिम्बेमा ४० हजार,फुङलिङ–३ याङलीजुङमा १ लाख र फुङलिङ–४ तोक्मे नर्सरी क्षेत्रमा करिव ८ लाख लिटर क्षमताका ट्याङ्की रहेको उपभोक्ता समितिले बताएको छ ।
समितिका सचिव कार्कीले नर्सरी क्षेत्रमा खानेपानी प्रशोधन केन्द्र परियोजना सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । यसले सम्भावित प्रदुषित र धमिलो पानीलाई शुद्धीकरण गर्न सक्ने उहाँको बुझाई रहेको छ । अहिले नौवटा मुहानको पानी एकिकृत गरी प्रतिसेकेण्ड १४ लिटरका दरले पानी आपूर्ति हुँदै आएको उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ता समितिको आफ्नै कार्यालय
केहि समय अघि सम्म भाडामा बस्दै आएको उपभोक्ता समितिको कार्यालय अब आफ्नै भवनमा सरेको छ । फुङलिङ नगरप्रमुख अमिर मादेन र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ सिंहले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । भवन करिव ८८ लाखको लागतमा निर्माण भएको हो । २०७७ साल माघ १४ गते तत्कालिन फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेल र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरका प्रमुख सिंहले संयुक्त रुपमा शिलान्यास गरेको भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख मादेनले जम्बुढाँडे–मैदाने खोला खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ता समितिले बहन गर्नुपर्ने २७ लाख रुपंैयामध्ये २० लाख रुपैंया फुङलिङ नगरपालिकाले व्यहोर्ने घोषणा गर्नुभयो । बाँकी रकम व्यवस्थापन गर्न उहाँले उपभोक्ता समितिलाई आग्रह गर्नु भएको छ ।
उपभोक्ता समिति अध्यक्ष गुरागाँईले कर्मचारी तलवभत्ता भुक्तानी पछि बढीमा मासिक १ लाख ५० हजार रुपैंया बचत हुने गरेको र यो रकमले मर्मतसम्भार खर्च धान्न कठिनाई भइरहेको सुनाउनुभयो । उहाँका अनुसार अहिले कार्यालय सचिव १,खानेपानी तथा सरसफाई टेक्निसियन ७,महशुल संकलक १ र चौकीदार तथा कार्यालय सहयोगी ११ गरी २० जना बैतनिक कर्मचारी रहेका छन् । अहिले मासिक करिव ५ लाख ५० हजार रुपैंया महशुल शुल्क असुल हुने र कर्मचारीको तलवभत्तामा मासिक ४ लाख रुपैंया भुक्तानी हुदै आएको उपभोक्ता समितिले जनाएको छ ।
भवन उद्घाटन समारोहमा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठ,जिल्ला प्रहरी प्रमुख डिएसपी कैलाश राई,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति बिनोद थापा,प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।