| |

सत्यनारायण श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजको ज्ञापनपत्र

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १६ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ताप्लेजुङले सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । फोनिजले महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ भएको उल्लेख गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएको हो ।
फोनिजका लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास) सहितको सहभागितामा जिल्ला अध्यक्ष दिनेश लिङ्खिमले पत्रकार महासंघका शाखा अध्यक्ष आनन्द गौतमलाई ज्ञापनपत्र बुझाउँदै श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ । महासंघको आफ्नो दस्तावेजमा संस्थापक अध्यक्षबारे उल्लेख भएको विवरण गलत भएकोभन्दै सो विवरणलाई सच्याउन फोनिजले माग गरेको छ ।
पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै भएको विभिन्न तथ्य, प्रमाण र दस्तावेजहरुले पुष्टि गर्दासमेत कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएकोमा फोनिजको बिमति रहेको ज्ञापनपत्रमा उल्लेख छ । संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराई हुन् भनी उल्लेख गरेको गलत विवरण सच्याउन फोनिजले जोडदार माग गरेको छ । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उहाँलाई महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने फोनिजको जोड रहेको छ ।
फोनिजले बुझाएको ज्ञापनपत्रमा २००८ साल बैशाख ९ गते सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको र २००९ साल बैशाख २८ गते पुनर्गठन गरेको इतिहास रहेको उल्लेख गरिएको छ । पछि २०१२ साल चैत १६ गते महासंघ पुनर्गठन हुँदा मात्र कृष्णप्रसाद उपाध्याय भट्टराई अध्यक्ष बन्नुभएकाले श्रेष्ठ नै संस्थापक अध्यक्ष रहेको पुष्टि हुँदासमेत भट्टराईलाई संस्थापक अध्यक्ष भनेर उहाँको अपमान गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
यता ज्ञापनपत्र बुझेलगत्तै पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पठाएको शाखा गौतमले जानकारी दिनुभयो । ज्ञापनपत्र फोनिजका जिल्ला पदाधिकारीसहितको टोलीले पत्रकार महासंघको शाखा कार्यालयमा गएर अध्यक्ष गौतमलाई बुझाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts