बैधानिक र व्यवहारिक ज्ञान दिन वडाध्यक्षहरुलाई तीनदिने अभिमुखीकरण,अभियान प्रदेश १ भरी चल्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १६ । कानुनी र व्यहारिक दुबै सिद्धान्तबाट प्रेरितभई कार्य सम्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाभरीका वडाध्यक्षहरुका लागि तीनदिने अभिमुखीकरण बिहीबारबाट सदरमुकाम फुङलिङमा सुरु भएको छ ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको यहाँ ६१ वटा वडा रहेका छन् । प्रदेश प्रशिक्षण केन्द्र अन्तरगत प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम कलवलगुरी झापाले अभिमुखीकरण आयोजना गरेको हो । केन्द्रका प्रमुख बिष्णुकुमार कार्कीले सेवा बितरणको क्रममा स्थानीय सरकारको प्रमुख निर्णयकर्ताको रुपमा रहने वडाध्यक्षहरुलाई कानुनी,बैधानिक र व्यवहारिक ज्ञान दिन अभिमुखीकरण सञ्चालन गरिएको बताउनुभयो । जन्मदेखि मृत्यु सम्मको बैधानिक पुष्ट्याँईको हक राख्ने वडातह संघीयता कार्यान्वयको प्राथमिक तर महत्वपूर्ण निकाय भएकोले त्यो निकायको सवलीकरणका लागि अभिमुखीकरण कामयावी बन्ने उहाँले बिश्वास लिनुभयो । वडाध्यक्ष सम्वन्धित स्थानीय तहको स्वतःकार्यपालिका सदस्य र बिभिन्न बिषयगत समितिका नेतृत्वकर्ता समेत भएकोले वडाध्यक्षहरुलाई सरकार सञ्चालनको बैधानिक ज्ञान बितरण गर्नु प्रमुख उद्देश्य हुने उहाँको भनाई थियो ।

जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले तथ्यमा आधारित सिफारिस र सत्यमा आधारित कार्य सम्पादन हुने हो भने यसले बैधानिक आधारित संरक्षण गर्ने बताउनुभयो । सत्य र तथ्यको कसीमा रहेर सेवाग्राहीलाई बिना झञ्झट,सहज र सरल ढंगले सेवा प्रदान गर्न सकेमा त्यसले जनप्रतिनिधिको असल भूमिका निर्वाह भएको पुष्टी हुने उहाँको भनाई थियो । तथ्यलाई नभुली सेवाग्राहीको सहजता हुनेगरी गरिने कार्यसम्पादनले जनप्रतिनिधिको व्यहारिकता पुष्टी हुने जिसस प्रमुख लामाले बताउनुभयो । जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिमले तीन तहका सरकारमध्ये जनतासंग सबैभन्दा नजिक रहेर स्थानीय सरकारले कार्य सम्पादनको मौका पाउने र त्यसको प्रमुख जिम्मेवारी वडाध्यक्ष र वडासदस्यहरुको हुने भन्दै जनमैत्री सेवा प्रदानका लागि वडातह जहिल्यै सम्बेदनशिल बन्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले वडातहबाट हुने सिफारिस र प्रमाणित कागजातले नागरिकको अधिकार स्थापित हुने आधार तयार हुने भन्दै ऐन नियम,प्रमाण र सत्यतथ्यका आधारमा वडातहले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । वडातहबाट हुने गलत सिफारिस वा निर्णयले समग्र मुलुकको व्यवस्थामाथि नै प्रभाव पर्नेतर्फ ध्यान दिएर बैधानिक आधार बिपरित नहुने गरी जनमैत्री सेवा प्रदानमा वडाध्यक्षहरु सम्बेदनशिल बन्नुपर्ने प्रजिअ पोखरेलको तर्क थियो । अभिमुखीकरणका मुख्य सहजकर्ता समेत रहनु भएका प्रदेश प्रशिक्षण केन्द्र झापाका शाखा अधिकृत जयनारायण अधिकारीका अनुसार नागरिकको प्रत्यक्ष सम्वन्ध जोडिने निकाय वडातह हुने भएकोले नागरिकलाई प्रवाह हुने सेवा वास्तविक र भरपर्दो बनाउन वडाध्यक्षहरुलाई सीप प्रवाह गर्न सुरु गरिएको हो ।

सुरुमा जिसस तथा पालिकाका प्रमुख र उपप्रमुख सहितलाई कार्य सम्पादनको बैधानिक प्रकृयाका बारेमा अभिमुखीकरण गरिएको थियो । प्रदेश १ का १४ वटै जिल्लाका वडाध्यक्षहरुका लागि सुरु गरिएको अभिमुखीकरणको यो दोस्रो चरण हो । यो चरणमा ताप्लेजुङ सहित ओखलढुङ्गा,भोजपुर र तेह्रथुम जिल्लाका वडाध्यक्षका लागि एकसाथ अभिमुखीकरण सुरु भएको छ । यसअघि इलाम,धनकुटा,उदयपुर र खोटाङ जिल्लाका वडाध्यक्षहरुका लागि अभिमुखीकरण गरिसकिएको अधिकारीले जानकारी दिनुभयो । तेस्रो चरणमा बाँकी रहेका जिल्लाहरु समेटिने छ । अधिकारी सहित जिल्ला समन्वय समिति पाँचथरका निमित्त समन्वय अधिकारी अनिल त्रिखत्रीले अभिमुखीकरण कार्यको सहजीकरण गर्ने प्रशिक्षण केन्द्रका शेखर कार्कीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts