पाथीभरा महोत्सवको नाम ‘मुकुम्लुङ महोत्सव’राख्नुपर्ने माग सहित संघर्षका कार्यक्रम घोषणा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ८ । मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।

मुकुम्लुङ संघर्ष समिति र याक्थुङ चुम्लुङले लामो समय देखि पाथीभरालाई मुकुम्लुङ नामाकरण गर्नुपर्ने सहितका माग राख्दै आएका छन् । संघर्ष समिति र याक्थुङ चुम्लुङ दुबैले बुधवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत चारबुँदे माग अघि सार्दै ति पूरा नभए बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने घोषणा गरेका छन् । विज्ञप्तिमा संघर्षका समितिकातर्फबाट सहसंयोजक नवीन फुरुम्बो र चुम्लुङकातर्फबाट अध्यक्ष ईन्दिरा मेन्याङ्वोको हस्ताक्षर रहेको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव नामाकरण गर्नुपर्ने, औपचारिक पत्र तथा कागजातहरु र होर्डिङ बोर्ड तथा स्वागतद्धारहरुमा मुकुम्लुङ पर्यटन महोत्सव लेखिनुपर्ने र महोत्सवका सबै प्रकृतिका कार्यक्रममा मुकुम्लुङ पर्यटन महोत्सव उधृत गर्नुपर्ने माग गरिएको छ ।

आफुहरुले सम्वन्धित पक्षहरुलाई यसबारे पूर्ववतःजानकारी गराएपनि माग सुनुवाईमा चासो नदिएको भन्दै संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले असोज ९ गते देखि १२ गते सम्म चारदिन ताप्लेजुङमा यातायात र बजार बन्द गर्ने घोषणा गरेको छ । माग सुनुवाई भए आन्दोलनका संघर्षका कार्यक्रमबाट पछि हट्ने समेत उसले भनेको छ । ताप्लेजुङमा आउँदो असोज ११ देखि १३ गते सम्म तीनदिन पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुन लागेको छ ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र यहाँस्थित नेपाली सेनाको भीमकाली गुल्मको संयुक्त आयोजना र हिमालयन् गाईड्स टे«क्स एण्ड एक्सपीडिसन प्रालि काठमाडौंको मुख्य प्रायोजनमा म्याराथन तथा महोत्सव हुन लागेको हो । २०६५ साल देखि सुरु भई २०७६ सम्म लगातार भएको महोत्सव कोरोना संक्रमणका कारण २०७६ साल पछि भने स्थगित भएको थियो । साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव यसपटक अघिल्ला बर्षहरुभन्दा केहि समय अघि बडादशैंको बेलामा हुन लागेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts