लागु औषध नियन्त्रणका लागि ताप्लेजुङ प्रशासनद्धारा २२ बुँदे कार्ययोजना सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालू बर्षका लागि लागु औषध नियन्त्रण सम्वन्धी २२ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

जिल्ला प्रवेश गर्ने नाकाहरुमा लागु औषध ओसारपसार गर्न सक्ने शंकास्पद व्यक्ति तथा सवारी साधन लक्षित निगारानी बढाउने,सीमा क्षेत्रमा लागु औषधको ओसारपसार नियन्त्रणका लागि बिशेष सुराकी परिचालन गर्ने तथा चेकजाँचलाई तीव्र बनाउने सहितका योजना अघि सारिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले कार्यालयको वेवसाईटमार्फत लागु औषध नियन्त्रण सम्वन्धी कार्ययोजना २०७९ सार्वजनिक गरेको छ । जस अनुसार चिकित्सकको सिफारिस बिना नियन्त्रित औषधिको बेचबिखनमा पूर्ण बन्देज लगाउने,लागु औषधजन्य औषधिको बिक्रीमा दुुरुपयोग हुन नदिन अनुगमन तथा चिकित्सकको सक्कल सिफारिसमा संकेत जनाउने,चिकित्सकको सिफारिस बेगर लागु औषधजन्य औषधि बिक्रीबितरण गर्न सक्ने सम्भावित पसलहरुको आकस्मिक अनुगमन गर्ने सहितका योजना रहेका छन् । यस्तै प्राकृतिक रुपले घना क्षेत्र भएको तथा व्यवसायिक रुपले गाँजा तथा अफिम खेति हुने स्थानको पहिचान गरी जनसहभागितामा नष्ट गर्ने अभियान सञ्चालन गर्ने,सडक बालबालिकालाई लागु औषध अपराधमा संलग्न हुन नदिन यिनिहरुको पहिचान,उद्धार र व्यवस्थापन गर्ने योजना अघि सारिएको छ ।

मानिसहरुको बढी जमघट हुने क्षेत्र सहित बिमानस्थल तथा सवारीपार्कहरुमा लागु औषध नियन्त्रण सम्वन्धि चेतनामुलक सूचना प्रसारण गर्ने,औषधि व्यवसायी,यातायात व्यवसायी र सवारी चालकका लागि लागु औषध प्रयोग बिरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै लागु पदार्थको सेवनबाट हुने व्यक्तिगत समस्या,सामाजिक र आर्थिक रुपले हुने क्षति,दुव्र्यसनको लक्षण र प्रभावबाट जोगिने उपायका बारेमा बिद्यालय र क्याम्पसहरुमा सचेतीकरण कार्यक्रम सञ्चालन गर्ने,जिल्ला समन्वय समितिको अगुवाईमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने र लागु औषध बिरुद्धको सचेतना अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहका लागु औषध दुव्र्यसनबाट पर्ने असर र प्रभाव बारे सडक नाटक प्रर्दशनी र सांगितिक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

यस्तै स्थानीय तहमा लागु औषध नियन्त्रणको लागि संघीय र प्रदेश ईकाईहरुको सहकार्य र समन्वय बढाउन लागु औषध नियन्त्रण सम्वन्धी नीति,कार्यविधि र कानुनको पारस्परिक तादम्यता कायम गराउन समन्वय गर्ने,जिल्ला र स्थानीय तहमा गठित लागु औषध नियन्त्रण समितिलाई मार्गदर्शन,सहयोग र समन्वय गर्ने योजना बनाईएको छ । तीनै तहका सरकार र निकायमार्फत लागु औषध बिरुद्ध बृहत्त जागरण अभियान सञ्चालन गर्ने,स्थानीय तहका आम सञ्चार संस्था र सञ्चारकर्मीसंगको समन्वय र साझेदारीमा लागु औषध बिरुद्धका सन्देशहरु प्रकाशन तथा प्रसारण गर्ने तथा जिल्ला र पालिकास्तरमा रहेका बिभिन्न गैर सरकारी संस्था,आमा समूह,बाल तथा ईको क्लव र अन्य संस्था वा समूहलाई सहभागी गराई लागु औषध अपराध अन्त्य सचेतना अभियान समिति गठन गरी संस्थागत अभियान चलाउने सहितका योजना अघि सारिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts